सिंगापुरका सडकमा अब रोबोटको गस्ती
२१ औं शताब्दीलाई प्रविधिको युग भनिएको छ । कृत्रिम सुराकी (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग संसारका धनी देश र ठूला शहरमा क्रमशः बढ्दो छ । नेपालमा समेत केहि रेष्टुरेण्टले ग्राहकलाई आकर्षण गर्न यान्त्रिक वेटर (रोबोट) को प्रयोग गरेका थिए । उता भारतका केही अस्पतालमा कोरोना महामारीमा उपचारको क्रममा यान्त्रिक डाक्टर (रोबोट) को प्रयोग गरिएको थियो ।
सिंगापुरले भने प्रहरी र सुरक्षाकर्मीको विकल्पमा रोबोट प्रयोग गरेको छ । सिंगापुरमा धुमपान र अवैध पार्किङलगायतका अवाञ्छनीय व्यवहारहरु नियन्त्रण गर्न ‘जेभियर’ नामको स्वःचालित रोबोटलाई शहरमा गस्ती गर्न लगाइएको हो ।
रोबोटले निषेधित स्थानमा धुमपान गर्ने,नियम मिचेर पार्किङ्ग गर्ने, फुटपाथमा साइकल चलाउने, ५ जनाभन्दा बढीको समूह बनाएर हिँड्नेहरुको खोजी गर्ने र ठाउँको ठाउँ कारबाही गर्ने भएको छ । परीक्षणको रुपमा परिचालन गरिएको रोबोटमा क्यामेरा र सेन्सर जडान गरिएको छ ।
त्यसबाट उसले एकाध सेकेण्डमा आफूले खिचेको अवाञ्छित भिडियो फुटेज नियन्त्रण केन्द्रमा पठाउँछ । नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार सम्बन्धित व्यक्तिलाई रोबोटले ठाउँको ठाउँ कारबाहीको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।
सिंगापुर विश्वको सबैभन्दा सुरक्षित देशहरुमध्ये एक हो । अहिले रोबोट प्रहरीको प्रयोग सिंगापुरको सबैभन्दा धेरै सवारी साधन चल्ने र पैदल यात्रुको खचाखच हुने स्थानमा गरिएको छ । हाल परीक्षणमा रहेको रोबोट प्रहरीको कारबाहीलाई विद्यमान कानुन कार्यान्वयनमा भने प्रयोग गरिने छैन । यो जनतालाई अझ बढी सुशिक्षित र सुसंस्कृत बनाउन प्रयोग गरिएको अधिकारीहरुको दाबी छ ।
रोबोटको प्रयोगले पैदल गस्तीमा खटिने गरेका जनशक्तिलाई स्वात्तै घटाउने र कार्यसञ्चालन दक्षतामा समेत उल्लेख्य सुधार आउने सिंगापुरको सुरक्षा निकायले विश्वास लिएको छ । गृहमन्त्री के.सानमुगामले सरकारले आगामी २०३० सम्म २ लाखभन्दा बढी यस्ता पुलिस क्यामेरा राख्ने लक्ष्य राखेको बताएका छन् । जुन दक्षिणपूर्वी एशियाको टापु राज्य सिंगापुरमा हाल फिँजाइएका सिसिटिभि क्यामेराको वर्तमान संख्याभन्दा दोब्बर हो ।
समाचार तथा फोटो : रोयटर्स
टिप्पणीहरू