काँग्रेस अधिवेशन रोक्न हालिएको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा
नेपाली काँग्रेसको १४औं आसन्न महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।
काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलमार्फत गत बिहिबार सो रिट दायर गरेका थिए । यसअघि रिट सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफ्नै इजलासमा राखेर हेर्न नभ्याइएका कारण आजका लागि पेशी सरेको थियो ।
वैद्यले कोरोना महामारीमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नु पर्ने माग गरेका छन् । यसरी रिट दायर हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । काँग्रेसमात्र होइन नेकपा एमाले र माओवादी केन्द्र पनि अधिवेशन गर्ने तयारीमा छन् ।
नरोत्तम वैद्यले माग गरेबमोजिम अन्तरिम आदेश भएको खण्डमा नेकपा एमाले र माओवादी केन्द्रका लागि समेत त्यो फैसला नजिर बन्न सक्ने छ । त्यसले ती दलको महाधिवेशनसमेत अनिश्चित बन्न सक्ने विश्लेषण गरिँदैछ ।
यता हालैमात्र गृह मन्त्रालयले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने ढंगले विज्ञप्ति सार्वजनिक गरेसँगै सोको विरुद्धमा नेपालको लागि नेपाली पार्टीको तर्फबाट अधिवक्ता अतिस कार्कीले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
अतिशले नेपालको संविधानको धारा १३३ (२/३) बमोजिमको आदेश जारी गरिपाउँ भनी रिट दायर गरेका हुन् ।
टिप्पणीहरू