शीरमा बुर्का,कक्षा कोठामा केटा केटीबीच पर्दा
अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएको झण्डै तीन सातापछि विश्वविद्यालयहरु बिस्तारै खुल्न थालेका छन् । तालिवानले अस्ति मात्रै अन्तरिम सरकार घोषणा गरेको छ ।
तालिवान २० वर्षपछि सत्तामा आएको हो । उसको सत्तामा दोस्रो पटक आगमनपछि अफगानिस्तानमा विद्यार्थीहरु पहिलो पटक विश्वविद्यालय फर्कन थालेका छन् । तर, पहिलेझैँ सरोबर नभई अब छात्र र छात्राबीच एउटै कक्षा कोठामा पर्दा लगाएर उनीहरुलाई विभाजित गरी पढाइएको छ । ‘उनीहरुलाई कम्तिमा छुट्टै कोठामा भने राखिएको छैन,’ अन्तर्रास्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
काबुलको एभिसिना विश्वविद्यालयमा पढाईंदै गरिएको एउटा कक्षा कोठाको तस्वीरमा कक्षाको बीच भागमा खैरो पर्दा ठड्याइएको छ । पर्दाको एकातर्फ छात्राहरुले पूरै शरीर ढाक्ने कपडा र शीरमा बुर्खा ओडेका छन् । तर उनीहरुले अनुहार भने छोप्नु परेको छैन ।
यसअघिको सत्तामा तालिवानले विश्वविद्यालयमा अध्ययन गर्न र घर बाहिरको काम गर्न महिलाहरुलाई प्रतिबन्ध लगाएको थियो । यस पटक भने इस्लामिक कानुनअनुसार महिलालाई अधिकार दिने बताउँदै आएको छ ।
अफगानिस्तानका ठूला शहर काबुल, कान्दाहार र हेरातका विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरुका अनुसार केही कलेजमा महिला विद्यार्थीहरुलाई अलग्गै कक्षा कोठामा राखेर पढाइएको छ । साथै उनीहरुलाई क्याम्पसका तोकिएको स्थान बाहेक अन्यत्र जान प्रतिबन्ध लगाइएको त्यहाँबाट प्राप्त अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको रिपोर्टमा जनाइएको छ ।
उता पश्चिमी भागमा रहेको हेरात विश्वविद्यालयको एक जना पत्रकारिता विषयका प्राध्यापकले आफ्नो एक घण्टाको कक्षालाई दुई भागमा विभाजित गर्ने निर्णय गरेका छन् । उनले पहिले आधा घण्टा महिला र त्यसपछि पुरुषलाई पढाउने गरेको बताएका छन् । किनभने छात्र र छात्राहरुलाई छुट्टै कक्षामा राखिएको छ ।
कतिपय स्रोतले भनेको छ, ‘विश्वविद्यालयमा छात्रालाई पढाउन महिला शिक्षकहरु नै राखिनु पर्ने वा उनीहरुलाई छुट्टै कक्षा कोठामा पढाउनु पर्ने तथा र साना कक्षाहरुमा बाक्लो पर्दाबाट छात्र र छात्रालाई छुट्टाछुट्टै राख्नुपर्ने नियम लगाइएको छ ।’
तालिवानका एक जना वरिष्ठ अधिकारीले पर्दा हालेर पढाउने भनिएझैँ कक्षा विभाजन समेत सरकारलाई पूर्ण स्वीकार्य रहेको बताएका छन् । उनले भनेका छन्, ‘अफगानिस्तानको सीमित स्रोत र जनशक्तिका लागि एउटै शिक्षकले कक्षाको दुबै कोठालाई पढाउनु राम्रो हुन्छ ।’
टिप्पणीहरू