फातिमालाई प्रचण्डको जवाफ: राष्ट्रिय सहमति नभई एमसीसी पास हुँदैन

फातिमालाई प्रचण्डको जवाफ: राष्ट्रिय सहमति नभई एमसीसी पास हुँदैन

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे निर्णय लिन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवास खुमलटारमा भएको कुराकानीमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएर मात्र एमसीसीसम्बन्धी निर्णय लिने प्रष्ट पार्नुभएको हो ।

भेटमा उपाध्यक्ष सुमारले एमसीसीको बारेमा अध्यक्ष प्रचण्डलाई कन्भिन्स गर्न प्रयास गरेको बताइएको छ । एमसीसी सैन्य रणनीतिअन्‍तर्गत नरहेको प्रष्ट पार्दै फातिमाले नेपालको हित प्रतिकूल नरहेको बताउनुभएको थियो ।

जवाफमा प्रचण्डले एमसीसी स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताउनुभएको खुमलटार निकट स्रोतले जनाएको छ । एमसीसीबारे राष्ट्रिय बहस शुरु भैसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै अनुमोदन गर्न आफ्नो पार्टी र गठवन्धनमा समेत छलफल भैरहेको प्रचण्डले बताउनुभएको थियो ।नेपालमा एमसीसी सम्झौतालाई लिएर चर्को विवाद छ । अधिकांश राजनीतिक दल,नागरिक समाज, बुध्दिजीवी एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

विवादकै बीच संसद्को जारी अधिवेशनबाटै एमसीसी पारित गर्ने तयारीमा सरकार जुटेको चर्चा भैरहेका बेला एमसीसी उपाध्यक्ष फातिमासहितको टोली हिजो काठमाडौँ आइपुगेको हो ।

टोलीले एमाले अध्यक्ष केपी ओली,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग हिजो छुट्टाछुट्टै नै भेटवार्ता गरेको थियो ।

टिप्पणीहरू