हिजोको दर,आज रोष्ट्रम कब्जाको डर
अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दर खाएर फर्किएको भोलिपल्ट केही महिला माननीयले संसद भवन बानेश्वरमा दुर्गाको रुप धारण गरेका छन् ।
संघीय संसदको नवौं अधिवेशनको दोश्रो बैठक प्रारम्भ भएदेखि नै एमालेका सांसद उग्र रुपमा प्रस्तुत भएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले नाराबाजीकै बीच अस्ति गृहमन्त्री बालकृष्ण खाँणलाई राजनैतिक दलसम्बन्धी र आज अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न बोलाउँदा गंगा चौधरी सत्गौवाले सहकर्मीको ढाडमा टेकेर रोष्ट्रममा चढ्ने कोसिस गरेको भिडियो फुटेजमा देखिन्छ ।
अस्ति २३ गतेको बैठकमा पनि उनले उप्रदो मच्चाएकोमा मर्यादापालकहरुले रोकेका थिए । उनीझैं पूर्व वनमन्त्री नारदमुनी राना थारु,पूर्व राज्यमन्त्री आशा बिक र कन्चनपुरका माननीय नरबहादुर धामी आज अलि उग्र देखिएका हुन् ।
सचेतक शान्ता चौधरी पनि रोस्ट्रम कब्जा गर्न खोज्नेको अग्रपंक्तिमा देखिन्छन् यद्यपि रोष्ट्रममा जान खोज्ने उनको प्रयासलाई मर्यादापालकहरुले सफल हुन दिएनन् । यस्तै उफ्रिपाफ्रीका कारण सत्तापक्षको एउटा टेबल भाँचिएको छ । टेबल भाँचिएपछि पहिलो लाइनमा बसेका कांग्रेसका सांसदहरु सशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव दोस्रो लहरमा गएर बसेका थिए ।
एमालेको विरोधका बाबजुद पनि अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८,राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ सहित तीन वटा अध्यादेश संसद् बैठकमा पेश गरी बहुमतले स्वीकृत गराएका छन् । आज आएको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ ।
टिप्पणीहरू