अवरुद्ध न्यायको गाँठो फुकाउन श्रीमान र बिद्वानलाई आमन्त्रण
संवैधानिक इजलाश एकल इजलाश (हरि फुयाँल) को एक आदेशको बन्धक बनेसँगै सो को गाँठो फुकाउनका लागि आज बार र बेञ्च समन्वय समितिको बैठक डाकिएको छ । वरिष्ठ न्यायाधीशहरू रहने संवैधानिक इजलासको सुनुवाइ प्रक्रियामा कनिष्ठ न्यायाधीश फुँयालको एकल इजलासले रोक लगाएपछि न्याय निरुपण प्रभावित हुँदै आएको बताइन्छ ।
संवैधानिक इजलासको सुनुवाइ नै नथाल्न कनिष्ठ न्यायाधीशको एकल इजलासले आदेश दिएपछि सर्वोच्च अदालतमा न्यायाधीशहरूबीच ध्रुवीकरण भइरहेको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशका बलमा भएको नियुक्तिविरुध्द परेको रिट सुनुवाइको क्रममा आफैं जोडिएको मुध्दा आफैंले हेर्न नमिल्ने वरिष्ठ अधिवक्ताहरुको रायपछि प्रधानन्यायाधीश राणाले संवैधानिक इजलाशको शुरु र अन्तिमको फैसलाबाट अलग हुने निर्णय गर्नुभएको थियो ।
तर न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महत्त्वको भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्न आदेश दिएसँगै बिषय कचल्टिदै आएको थियो ।
आफ्नो स्वार्थ बाझिएको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ चल्दा प्रधानन्यायाधीश इजलासमा बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा देखिएको विवादको निकासका लागि बेञ्च–बार समन्वय समितिको बैठक डाकिएको बारका एक सदस्यले जनआस्थालाई जानकारी दिए । उनका अनुसार आज अपरान्ह २ बजेदेखि बैठक प्रारम्भ हुने छ । सो बैठकमा सर्वोच्च अदालतबाट ५ जना न्यायाधीश,बारका पूर्व र वर्तमान अध्यक्ष गरी १० सदस्य सहभागी हुनेछन् ।
बैठक प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको कार्यकक्षमा डाकिएको छ । आजको बैठकमा बारका तर्फबाट शम्भु थापा,चण्डेश्वर श्रेष्ठ,हरिहर दाहाल,पूर्णमान शाक्य सहभागी हुनेछन् । सर्वोच्च अदालतबाट पनि ५ जनाको सहभागिता हुने बताइएको छ ।
सर्वोच्च प्रशासनका अनुसार आजको बैठकमा सर्वोच्चबाट वरिष्ठता क्रममा रहेका ४ न्यायाधीश र मुख्य रजिष्ट्रार लालबहादुर कुँवर सहभागी हुनेछन्।
टिप्पणीहरू