विदेशको खर्च हिसाब कि बेहिसाब
अन्य देशका परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोग चलाउँछन्, हाम्रोमा चाहिँ ठीक उल्टो छ, कूटनीतिक नियोगले मन्त्रालय घुमाइदिन्छन् । कूटनीति नै नबुझेका म्यानपावरवालादेखि नेताको सासू, व्यापारीलाई राजदूत र महावाणिज्यदूत बनाएर खटाइँदा एकातिर परराष्ट्र मामलामा नेपालकै शाख खस्कँदै गएको छ, अर्काेतिर ती निकायमा हुने खर्च अत्यासलाग्दो र अपारदर्शी भयो भन्दै छ सरकारी प्रतिवेदनले !
राष्ट्रिय हितलाई भन्दा भागबण्डालाई केन्द्रविन्दुमा राखी सञ्चालनमा ल्याइएका कूटनीतिक नियोगहरूले राज्यको अनावश्यक भार बढाइरहेको तथ्य परराष्ट्र र अर्थका अधिकारीहरू स्विकार्छन् । अर्थका एक अधिकारीका अनुसार, एउटा कूटनीतिक नियोगका लागि मात्र कम्तिमा ९ करोडभन्दा बढी प्रशासनिक खर्च निस्कन्छ । एक आर्थिक वर्षमा मात्र विदेशस्थित हाम्रा ३० वटा राजदूतावास र १० वटा नियोगले ३ अर्ब ५७ करोड ३१ लाख ५१ हजार रूपैयाँ सकेका छन् । प्राप्त विवरणअनुसार वासिङ्टनस्थित दूतावासको एक वर्षमा ५१ करोड ९३ लाख ६४ हजार र नेपाली स्थायी नियोग न्यूयोर्कको वार्षिक खर्च २३ करोड २१ लाख ७३ हजार देखाइएको छ ।
यता, पारिवारिक भत्ता, आवास गृह भाडादेखि हवाई टिकटमा समेत यी निकायमा कार्यरत कर्मचारी तथा अधिकारीहरूले मनपरी गरेको महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा आैँल्याइएको छ । पछिल्लो एक वर्षमा मात्र ६ करोड २६ लाख २९ हजार बराबरको हवाई टिकट खरिद भएको छ। विभिन्न तीन वटा फर्मसँग हवाई टिकट खरिद गर्दा लागतभन्दा १३५ गुणासम्म बढी भुक्तानी भएको भन्दै महालेखाले त्रुटि औँल्याएको छ । यस्तै विभिन्न १३ नियोगका १९ कर्मचारी तथा तिनका आश्रित परिवारको लागि ४८ टिकट खरिद गर्दा ७७ लाख ५८ हजार खर्च देखाइएकोप्रति महालेखाले प्रश्न उठाएको छ ।
यस्तै, पारिवारिक भत्ताका नाममा समेत मनलाग्दी निकासा भएको भेटिन्छ । प्रतिवेदनअनुसार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले पारिवारिक भत्ताको नाममा १७ लाख ३९ हजार समेत हालसम्म ९३ लाख ५५ हजार खर्च देखाएको,कर्मचारीहरूको आवास गृह भाडामा यो वर्ष सरकारको ६ करोडभन्दा बढी खर्च भएकोप्रति महालेखाले प्रश्न उठाएको छ ।
परराष्ट्रका अनुसार नेपाली राजदूतावास लण्डनले अघिल्लो आर्थिक वर्षमा २७ करोड ८१ लाख ३८ हजार रूपैयाँ खर्च गरेको छ भने नेपाली दूतावास दिल्लीले वर्ष दिनमा १४ करोड ३८ लाख २८ हजार खर्च गरेको छ । यस्तै,रियादस्थित राजदूतावासको खर्च १३ करोड ९५ लाख २२ हजार देखाइएको छ ।
आबुधावीस्थित राजदूतावासले १२ करोड ३४ लाख ३१ हजार, दोहास्थित नेपाली राजदूतावासको वर्ष दिनको खर्च ११ करोड ९८ लाख ३७ हजार रूपैयाँ देखाइएको छ । प्रधानमन्त्री देउवाकी सासू प्रतिभा राणा राजदूत रहेको टोकियोस्थित नेपाली राजदूतावासको खर्च १० करोड ५४ लाख ४ हजार र क्वालालाम्पुरस्थित नेपाली दूतावासको खर्च १० करोड ५१ लाख ४० हजार छ । नेपाली राजदूतावास बेइजिङबाट ९ करोड ८८ लाख २० हजार रूपैयाँ खर्च भएको विवरण प्राप्त भएको छ ।
परराष्ट्रका अनुसार हालसम्म ९ राजदूतावास कार्यालय र ११ दूतावास मात्र आफ्नो स्वामित्वको भवनमा छन् । नियोगहरूले घरभाडामा मात्र ८१ करोड खर्च गरेका छन् । क्यानबेरा, क्वालालम्पुर, कोलम्बो, इस्लामावादसमेत चार स्थानमा खरिद गरिएका जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा र अलपत्र परेको, आवासीय भवन खरिद तथा निर्माणका लागि ३९ करोड ६७ लाख बजेट विनियोजन गरे तापनि खर्च गर्न नसकेको औँल्याइएको छ ।
यसैबीच, ओमनस्थित ओली सरकारद्वारा म्याद थपिएकी राजदूत शर्मिला ढकाल नयाँ नियुक्ति या थमौतीको निम्ति काठमाडौँ आएको खबर छ ।
टिप्पणीहरू