​सपना, जसले फे¥यो संसारको स्वरुप

  • राजेन्द्र स्थापित

त्यसबेला रोमको ठूलो प्रगति भइसकेको थियो । विभिन्न देशबाट पक्रेर ल्याइएका र युद्धमा समातिएका दासहरुको बजारमा हाकाहाकी लिलामी हुन्थ्यो । निर्जीव बस्तुसरह व्यवहार गरिन्थ्यो । अत्याचारको कुनै सीमा थिएन । रोमसरह उत्तरी अफ्रिकी सहर कार्थेजको पनि विकास चरमोत्कर्षमा पुगेको थियो । प्राचीन सभ्यताको राजधानी, ट्युनिसिया–तालको पूर्वमा अवस्थित ऐतिहासिक यो नगरका बासिन्दा यहुदी थिए, जो प्यालेस्टाइनबाट भागेर त्यहाँ पुगे । व्यापारमा पोख्त । नतिजास्वरुप कार्थेज चाँडै सम्पन्न बन्यो । अफ्रिका र युरोपमा ग्रिकहरुको दबदबा कायम रहेसम्म यिनीहरुको सम्बन्ध रोमनहरुसित प्रगाढ बन्यो । तर ग्रिक साम्राज्यको पतनपछि एक–अर्काको शत्रु बने । भूमध्य सागरलाई आफ्नो बनाउन दुवै लड्न थाले । 

कार्थेजका सेनापति हन्निबल बार्का थिए । इतिहासकारहरु उनलाई महान कमाण्डर मात्र होइन, सैन्य रणनीतिका पिता मान्दछन् । हन्निबल रोमन साम्राज्यलाई घृणा गर्थे । रोममाथि कब्जा गर्न चाहन्थे । एकदिन गहिरो निद्रामा थिए । सपनामा एक दिव्यपुरुष प्रकट भए । उनले भने, ‘स्वर्गबाट एउटा सन्देश ल्याएको छु । तिमीले रोमन साम्राज्यमाथि आक्रमण गर ।’ हन्निबलले चारैतर्फ हेरे । एउटा अजंगको सर्पले बाटोका सबै अवरोध नष्ट गरिरहेको थियो । त्यो बेला आकाश पूर्णतः अँध्यारो थियो तर बीचबीचमा अन्धकार चिर्दै बिजुली चम्किरहेको थियो । हन्निबलले उदास हुँदै ती दिव्यपुरुषसँग प्रश्न गरे, ‘यो दृष्यको अभिप्राय के हो ?’

ती पुरुषले भने, ‘तिमी जे देखिरहेका छौ, त्यो इटलीको विनाशको प्रतीक हो, जुन चाँडै हुँदैछ । जाऊ, हमला गरिहाल । तिम्रो मनोकामना पूर्ण हुँदैछ ।’ हन्निबलले सपनामा प्राप्त आदेश पालना गरे । रोम साम्राज्यलाई तहसनहस पारे । इटलीको अधिकांश भूभाग कब्जा गरेर १५ वर्षसम्म शासन गरे । तर, रोम सहरतर्फ अघि बढ्न सकेनन् । शत्रुले उत्तरी अफ्रिकामा आक्रमण गरेका कारण स्वदेश फर्कनुप¥यो । इटलीमा गरिएको सुधार पनि असफल भएपछि भाग्नुप¥यो । पाकिस्तानसम्म फैलिएको सेल्युकस निकेटरद्वारा स्थापित गरेको साम्राज्यका राजा आन्तियोकुस (तृतीय) को सैन्य सल्लाहकार भई बसे । रोमविरुद्ध युद्ध गर्न उक्साए तर आन्तियोकुस म्याग्नेसियाको युद्धमा पराजित बने । हन्निबल रोमनहरुको कब्जामा परिने डरले त्यहाँबाट भागेर आर्मेनिया पुगे । जामाको युद्धमा विजयी बनेपछि रोमले हन्निबलको सुपुर्दगीका निम्ति कार्थेजलाई आदेश दियो । हन्निबल सिरिया पुगी रोमविरुद्ध युद्धको तयारीमा लागे । सिरिया तयार नभएपछि ६६ वर्षको उमेरमा विष सेवन गरी इशापूर्व १८१ मा मरे । 

जरसेक्सेस इरानी राजा हुन् । इशापूर्व ४८६ मा गद्दीमा बसेका उनले ६ वर्षपछि ग्रिसमाथि आक्रमण गर्ने योजना बनाए । सचिव र मन्त्रीहरुसँग सल्लाह मागे । वरिष्ठ मन्त्री आर्ताबानस एकजनाले विरोध गरे । जरसेक्सेस चिन्तित बने र निदाउनुअघि त्यसबारे धेरै सोचे । सपना देखे । अग्लो पुरुषले भने, ‘जरसेक्सेस, तिमी उचित काम गर्दैछैनौ । एकजनाले विरोध गर्दैमा निर्णयमा फेरबदल नगर ।’ जरसेक्सेसले उक्त सपनामाथि ध्यान दिएनन् र आक्रमणको योजना स्थगित गरे । भोलिपल्ट फेरि सोही सपना देखे । अघिल्लो सपनामा देखिएकै व्यक्तिले फेरि भने, ‘तिमीले युद्धको घोषणा गरेनौ भने जति तीव्र गतिमा उदय भएको हो, त्यही गतिमा पतन हुनेछौ ।’ दोस्रो सपनापछि जरसेक्सेस चिन्तित बने । मन्त्री आर्ताबानसलाई बोलाएर यो कुरा सुनाए । 

राति आर्ताबानसले पनि त्यही सपना देखे । सपनाका नायक सोही पुरुषले राजालाई निर्णय फेर्न लगाएकोमा आर्ताबानसको आलोचना गरे । इतिहासको धार बदल्ने कोसिस नगर्न चेतावनी दिए । आँखा फोरिदिने धम्कीसमेत दिए । आर्ताबानस सो सपनाबाट यति भयभित भए कि ग्रिसमाथि आक्रमण गर्ने राजाको योजनाविरुद्ध पछि ‘चुँ’ बोलेनन् । जरसेक्सेसले ग्रिसमाथि आक्रमण गरे । आर्ताबानसले भरपूर सहयोगसमेत गरे । जरसेक्सेस ग्रिसमाथि आक्रमणको साहस गर्ने प्रथम इरानी राजा मानिन्छन्, भलै युद्ध हारे ।

जुलियस सिजर प्रख्यात रोमन राजनीतिज्ञ र सेनापति हुन् । रोमन गणतन्त्रको विघटन र रोमन साम्राज्यको स्थापनार्थ विशेष भूमिका निभाएका । इंग्लिस च्यानल र राइन नदी पार गरेका प्रथम रोमन सैन्य नेता । अत्यन्त शक्तिशाली सेनापति । इशापूर्व ८४ मा पहिलो बिहे कोर्नेलियासँग गरे । दोस्रो बिहे इशापूर्व ६७ मा पोम्पियासँग । र, तेस्रो बिहे आठ वर्षपछि कल्पुर्णियासँग । कल्पुर्णिया उमेरमा सिजरको छोरीभन्दा पनि कान्छी । एकदिन नराम्रो सपना देखिन् । सिजरलाई सपनाको अपहेलना नगर्न सम्झाउँदै शत्रुले षड्यन्त्र गरिरहेको बताइन् । सञ्चो नभएको बहाना बनाएर संसद्मा नजानसमेत बिन्ती गरिन् । तर, शक्ति र सत्ताको नशामा चुर सिजरले सपनाको कुरो भ्रम र अन्धविश्वास मात्र भएको ठाने । धूर्त सामन्त कैसियसले आफ्ना मित्र मार्कुस ब्रुटुसलाई शत्रुमा परिणत गरिसकेको थाहै पाएनन् । पत्नीको कुरो नसुनी संसद् गए । जहाँ सांसद टिलियुस सिम्बरले उनको घाँटी अँठ्याएर लुगा च्यातिदिए । सिजर ‘यो के गरेको ?’ भन्दै कराए ।

यसबीच अर्का सांसद कास्का लोन्गिनुसले खुँडा निकाले र कठालो समातेर घचेटे । सिजरले फनक्क फर्केर कास्कालाई च्याप्प समाए । तर लगत्तै मार्कुस बु्रतुसलगायत कास्का, डोसिमुस बुर्तुसको समूहले सिजरमाथि आक्रमण गर्न थाल्यो । सिजरले भाग्ने कोसिस गरे तर रक्ताम्य भइसकेकाले बाटो देखेनन् । लर्खराउँदै ढले । त्यसपछि करिब ६० जनाको जत्थाले छुरा, चक्कु, खँुडाले हानेको हान्यै ग¥यो । उनको तत्काल मृत्यु भयो । इतिहासकारहरु भन्छन्, ‘सिजरले पत्नी कल्पुर्णियाले देखेको सपनाको कुरामा विश्वास गरेको भए इतिहासको स्वरुप नै बेग्लै हुन्थ्यो ।’ कल्पुर्णियाको सपनामा विश्वास नगर्दा नै जुलियस सिजरको अकाल मृत्यु (इशापूर्व ४४ को मार्च १५ मा) हुन पुगेको सुप्रसिद्ध नाटककार सेक्सपियरले पनि उल्लेख गरेका छन् ।

विश्वविजेता बन्ने सपना देखेका नेपोलियनले पनि सपना देखेका थिए । सपनामा आफूलाई सिक्रीले बाँधिएको अवस्थामा पाए तर घमण्ड चढेर भने, ‘नेपोलियनलाई कसैले त्यो अवस्थामा पु¥याउन सक्दैन ।’ नभन्दै सपना देखेलगत्तै वाटरलुको लडाईंमा पराजित बने । सानो द्वीप सेन्ट हेलेनामा साढे पाँच वर्ष बन्दी बनेर यातना र अपमान सहन बाध्य भए । टापुका अंग्रेज गभर्नर जंगली स्वभावका थिए । नेपोलियनमाथि निकृष्ट व्यवहार गर्थे । टापुको सबैभन्दा अस्वस्थकर स्थानमा रहेको  जर्जर घरमा बन्दी बनाएर राखे । कहिलेकाहीं खानासम्म दिँदैनथे । नेपोलियनकी ७१ वर्षीया आमा लेटिजिया रामोलिनो जीवनको अन्तिम दिन छोरासँग बिताउन चाहन्थिन् तर अंग्रेज सरकारले उनको सपना पनि पूरा हुन दिएन । नेपोलियनको मृत्यु सन् १८२१ मा त्यहीं भयो । लेटिजियाको भने सन् १८३६ मा मात्र मृत्यु भयो । अन्तिम समयमा पूर्णतः अन्धी भइसकेकी थिइन् । 

विश्वविजेताको सपना देख्ने अर्का तानाशाह एडोल्फ हिटलर नेपोलियनजस्तो सपनाप्रति विश्वास नगर्नेमा परेनन् । नत्र न विश्वमा नाजिवादको जन्म हुन्थ्यो न दोस्रो विश्वयुद्ध । जन्म ब्राउनाउ आम–इन नगरमा भएको हो । त्यसबेला यो नगर अष्ट्रिया–हंगेरी साम्राज्यअन्तर्गत थियो । २४ वर्षको उमेरमा सन् १९१३ मा जर्मनी गए । बाभेरिया सेनामा भर्ति भए । बाभेरिया त्यसबेला जर्मनीको मातहतमा गइसकेको थियो तैपनि त्यहाँ राजतन्त्र विद्यमान थियो र जर्मनीले छुट्टै सेना राख्न पाउनेजस्ता केही विशेष सुविधा दिइएको थियो । सन् १९१६ को जुलाई १ मा उत्तरी फ्रान्सको सोमेनदी क्षेत्रमा फ्रान्स र बाभेरियाको सेनाबीच झडप भयो । हिटलर पैदल सेनाको सबैभन्दा सानो दर्जा लान्स कर्पोरल थिए । एकदिन डरलाग्दो सपना देखे । निद्रा खुल्यो । सपनामा बरफको भयंकर ठूलो आँधीबेहरी आएको र त्यसैमा आफू पुरिएको देखेका थिए । निद्राबाट ब्युँझिएर हेर्दा आफूलाई केही नभएको पाए । बाहिरको वातावरण पनि शान्त थियो तर सपनामा देखेको घटनाले यति डराए कि सुरक्षित स्थानको रुपमा रहेको खाल्डो (जहाँ सैनिकहरु लुकी बसेका थिए) बाट बाहिर निस्के । बाभेरियन र फ्रान्सिसी सेना तैनाथ रहेको मध्यभागको खुला स्थानमा पुगे । कुनै पनि बेला फ्रान्सिसी सेनाले चलाएको गोली लाग्नसक्ने खतरा मोल्दै अघि बढे । 

नभन्दै तोप पड्कन थाल्यो । एउटा बिष्फोट पनि भयो । विष्फोटको कम्पनले हिटलर लडे । आफूलाई सम्हाल्दै बिस्तारै उठे । दायाँबायाँ हेर्दै आफूहरु लुक्ने गरेको खाल्डोतर्फ दौडे । त्यहाँको दृश्य देखेर एकछिन कामे । त्यहाँ लुकी बसेका सबै सैनिकलाई हिमआँधीले पुरिसकेको थियो । त्यहाँ उनी एक्लो सैनिक थिए । यो घटनापछि हिटलरलाई सपनामाथि ठूलो विश्वास जाग्यो । सोचे, ईश्वर उनीमार्फत ठूलो र महŒवपूर्ण काम गराउन चाहन्छ । र, यही विश्वासमा अघि बढे । नाजीवादलाई जन्म दिएर विश्वमा हलचल मच्चाए । आफ्नो शक्ति प्रदर्शन गर्न दोस्रो विश्वयुद्ध छेडे । यद्यपि उनको पतन आत्महत्याद्वारा भयो । 

दोस्रो विश्वयुद्धमा सेमेको भूमिमा भएको लडाईं सबैभन्दा खतरनाक र रक्तपातपूर्ण थियो । सन् १९१६ को जुलाई १ देखि नोभेम्बरसम्म भएको सो युद्धमा ३० लाख सैनिकको सहभागिता थियो । त्यसमध्ये एक तिहाई अर्थात् १० लाख सेना मारिए र घाइते भए । हिटलर बाभेरियाको सेनामा सन् १९२० सम्म कार्यरत थिए । 

टिप्पणीहरू