गाडी सरकारी,सचिवको निजी सवारी

गाडी सरकारी,सचिवको निजी सवारी

सरकारी सवारी साधन दुरुपयोगको रोग केन्द्रबाट प्रदेश हुँदै पालिकासम्म पुगेको छ । त्यही क्रममा अहिले कर्णाली प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयको एउटा सवारी साधन नेपाली काँग्रेसको अधिवेशनमा निर्वाध प्रयोग गरिएको पाइएको छ ।

मन्त्रालयको बा.२ झ २०५८ नम्बरको सवारी साधन पश्चिम सुर्खेतको विभिन्न क्षेत्रमा भएका अधिवेशनमा चौबिसै घण्टा प्रयोग होइन,दुरुपयोग भएको छ । त्यहाँका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीका भतिज तथा काँग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले मन्त्रालयको गाडीलाई आफ्नो निजी सवारी साधनसरह प्रयोग गरेका हुन् । त्यो क्रम आज पनि जारी रहेको स्थानीयले बताए ।

काँग्रेस अधिवेशन नजिकिएसँगै उनले मन्त्रालयको गाडीबाट पश्चिम सुर्खेतको चौकुने,पञ्चपुरी,बराहताल हुँदै वीरेन्द्रनगरसम्मका काँग्रेस कार्यकर्तालाई ओहोरदोहोर गराइरहेका छन् । यसरी राज्यको स्रोतसाधनको चरम दोहन हुँदासमेत सम्बन्धित निकाय मौन रहेकोमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

यता सामाजिक विकास मन्त्रालयले भने गाडी दुरुपयोग वा प्रयोगबारे केही पनि थाहा नभएको ‘अफिसियल’ जवाफ दिएको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले आफू काम विशेषले जिल्ला बाहिर रहेको भन्दै यसबारे कार्यालयमा फर्केपछि बुझ्ने बताउनु भयो ।

उहाँले मन्त्रालयको गाडी कुनै पनि व्यक्तिले आफूखुशी प्रयोग गर्नु नै गलत भएको बताउँदै आजै यसबारे जानकारी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू