पूर्वमन्त्री कमरेडद्वारा महिला वडाध्यक्षको मानमर्दन
अस्ति शनिवार सम्पन्न एमाले वडा अधिवेशनमा एमाले नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले महिला वडाध्यक्षको मानमर्दन गरेको आरोप छ ।
काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये निर्वाचित एक मात्र महिला वडाध्यक्षको सातो लिने गरी श्रेष्ठले भाषण गरेपछि १४ नम्बर वडाकी वडाध्यक्ष शोभा सापकोटाले अधिवेशनस्थल छाडेकी हुन् ।
उक्त वडामा श्रेष्ठले आफू अनुकूलको कमिटी गठन गर्न कोरम नपुर्याई अधिवेशन गराएको आरोप लागेको छ । २२ हजार मतदाता रहेको उक्त वडामा एमालेले सात सय जनालाई संगठित सदस्यता वितरण गरेको थियो । त्यसमध्ये यसपटक चार सय जनाले मात्र नवीकरण गरेका छन् ।
“१५ दिनअघि साधारण सदस्यता लिएकालाई पनि संगठित सदस्यको हैसियत दिएको समेत अर्को पक्षले आरोप लगाएको छ ।”
१५ दिनअघि साधारण सदस्यता लिएकालाई पनि संगठित सदस्यको हैसियत दिएको समेत अर्को पक्षले आरोप लगाएको छ । त्यति गर्दा पनि श्रेष्ठ प्रमुख अतिथि रहेको अधिवेशनस्थलमा जम्मा ५० जना संगठित सदस्यको उपस्थिति रहेको सहभागी एक जनाले बताएका छन् ।
उनले भने, ‘कृष्णगोपालले आफू अनुकूलको व्यक्ति राखेर हस्तक्षेप गरे । जबकि अधिवेशनको लागि सदस्यको ५० प्रतिशतभन्दा बढीको उपस्थिति हुनैपर्छ ।’
उता,बल्खुमा चार सय मतदाता रहेको सुकुम्बासी बस्तीबाट एमाले वडा अधिवेशनमा प्रतिनिधि चयन नगरिएको भन्दै असन्तुष्टि पोखिएको छ । उनीहरुले विगतमा श्रेष्ठलाई मतदान गरे पनि अब काँग्रेसमा प्रवेश गर्ने तयारी गरेको समेत बताइएको छ ।
एमालेको १४ नम्बर वडा कमिटीको अध्यक्षमा विनोद थापा,उपाध्यक्षमा राधाकुमारी श्रेष्ठ,सचिवमा रमेश खत्री,सहसचिवमा राम महर्जन, सहसचिवमा कल्याणी थापा मगर छन् । कमिटी ४३ सदस्यीय बनाइएको छ ।
टिप्पणीहरू