अन्तिम प्रेमको अतृप्त अध्याय
- राजेन्द्र स्थापित
ऊना ओ’ निलको जन्म बर्मुडामा भयो । उत्तरी आन्ध्र महासागरस्थित बर्मुडा बेलायतको अधीनमा छ । ऊना नोबल साहित्य पुरस्कार र पुलित्जर पुरस्कारप्राप्त अमेरिकी नाटककार युजिन ओ’ निल र लेखिका इग्नेस बोल्टनकी छोरी हुन् । तर, उनी चार वर्षको छँदै युजिन र इग्नेसबीच सम्बन्धबिच्छेद भयो । ऊनाको पालनपोषण इग्नेसले नै गरिन् । न्यू जर्सीमा हुर्केर बढेपछि ऊना उच्च शिक्षा हासिल गर्न न्युयोर्क पुगिन् । त्यहीं सन् १९४२ मा फेसन पत्रिकाका लागि फोटो खिचाइन् । त्यसो त फोटोमा साथमा थिइन्– क्यारोल मर्कस, जो पछि हलिउडकी चर्चित हिरोइन बनिन् । तर, सञ्चारजगतले महŒवपूर्ण स्थान दियो ऊनालाई मात्र । चर्चामा छाएपछि ऊनाले पछि मोडलको काम गरिन् तर उनी चलचित्रको अभिनेत्री बन्न चाहन्थिन् । त्यसैले अर्को वर्ष हलिउडतर्फ प्रस्थान गरिन् ।
चलचित्रमा काम पाउने आशामा निर्माता–निर्देशकहरुको घर चहारिन् । यसैक्रममा उनको भेट प्रख्यात हाँस्य कलाकार तथा फिल्म निर्माता चार्ली चैपलिनसँग भयो । चैपलिन मूक (नबोल्ने) चलचित्रका त बादशाह नै थिए । ४४ वर्ष त अभिनयमा बिताइसकेका थिए । जीवनमा तीन पत्नी भिœयाइसकेका थिए तर तीनै दाम्पत्य जीवन असफल भयो । पहिलो दाम्पत्य जीवन मिल्ड्रेड ह्यारिससँगको तीन वर्ष पनि टिकेन । सन् १९२० मा अलग्गिएपछि सन् १९२४ मा लिटा ग्रेसँग विवाह गरे । चार वर्षपछि १९२७ मा सम्बन्धबिच्छेद भयो । त्यसपछि सन् १९३६ मा पाउलेट गोडार्ड उनको जीवनमा आइन् । बिहे भयो, तर सन् १९४२ मा दुवै अलग्गिए । अतः ऊनासँग भेट हुँदाको समय चैपलिन एक्लो थिए । चाँडै नै दुवै एकार्कासँग घुलमिल भए । नजिकिए । सन् १९४३ को जुनदेखि प्रेमी–प्रेमिका नै बने । त्यसबेला ऊनाको उमेर १७ वर्ष ११ महिनाको थियो, जबकि चैपलिन ५४ को अर्थात् ऊनाभन्दा चैपलिन ३६ वर्षले जेठा थिए । त्यसका बाबजुद दुवैको विवाह भयो ।
उक्त विवाहको अमेरिकामा चौतर्फी विरोध भयो । चैपलिनका पूर्वपत्नीहरुसरह ऊनाले पनि चैपलिनलाई चाँडै छाडेर जानेछिन् भनेर भविष्यवाणी गरे । कतिपयले धनको लोभमा ऊनाले बिहे गरेकोसम्म भने तथापि ऊनाको नजर चैपलिनको धनमा थिएन । स्वयं कुलिन परिवारकी थिइन् । उनले सच्चा मनले चैपलिनसँग प्रेम गरिन् । चैपलिनको जीवनका सबै बाधक हटाइन् । चैपलिनले पनि त्यो चौथो बिहेपछि यथार्थमा प्रेमको अर्थ बुझे । चाहेअनुरुप प्रेम प्राप्त गरे । ३४ वर्ष लामो दाम्पत्य जीवन बिताए । यस अवधिमा उनले जीवनका श्रेष्ठतम चलचित्रहरु निर्माण गरे । उत्कृष्ट संगीत सिर्जना गरे । उनका मित्रहरु सबैले भन्न थाले, ‘चैपलिनको जीवनमा सबैभन्दा महत्वपूर्ण व्यक्ति ऊना हुन् ।’
हुन पनि ऊना सहनशील र क्षमतावान प्रतिभा हुन् । उनले आफ्नो जीवनको लक्ष्य नै ‘चैपलिनलाई सफल बनाउने’ बनाइन् । स–सानो काममा अल्झिने र तनावमा रहने चैपलिनको बानीलाई चटक्कै हटाइदिइन् । लोग्नेको भोजनको सम्पूर्ण जिम्मेवारी सम्हालिन्, पहिला यो जिम्मा नोकर–चाकरको थियो । त्यसैले सन् १९७७ मा चैपलिनको निधन हुनुपूर्वसम्म शरीर तन्दुरुस्त नै थियो, जबकि ८९ वर्षका भइसकेका थिए । कार्यक्षमतामा कुनै कमी आएको थिएन । ऊना ३४ वर्ष लामो चैपलिनसितको दाम्पत्य जीवनमा आठ सन्तानका आमा बनिन् । अन्तिम सन्तान जन्मेको समय चैपलिन ७८ वर्षका थिए । ऊनाले चैपलिनका पहिलो पत्नीका तर्फबाट तीन सन्तानलाई पनि मातृस्नेह दिइन् । हुन त ऊना र चैपलिन प्रेम गर्न थालेको वर्ष स्न् १९४३ मा चैपलिनका दुई पुत्र, जो उनैका उमेरका भइसकेका थिए, ऊनाप्रति आकर्षित थिए । जबर्जस्ती प्रेमिका बनाउन उद्यत थिए तर पछि ऊनै ऊनाले सौतेले छोराप्रति ममता न्यौछावर गरिदिइन् । ८९ वर्षको उमेरमा पनि ऊनाप्रतिको चैपलिनको स्नेहशीलतामा कुनै कमी आएन । चैपलिन जब मित्रसँग गफिन थाल्थे, ऊना कोठाभित्र पसेर लोग्नेसँगै उभिन पुग्थिन् । चैपलिन उठेर पत्नीको हात समाउँथे र आफूसँगै बसाल्थे ।
सन् १९५३ मा जब कम्युनिष्टको आरोप लगाएर चैपलिनलाई अमेरिका प्रवेशमा रोक लगायो, त्यसबेला पनि ऊनाले पूर्णरुपमा लोग्नेलाई साथ दिइन् । चैपलिनले आफ्नो प्रवासपत्र अमेरिकी सरकारलाई फिर्ता गरेपछि ऊनाले पनि पितामोहसमेत त्यागेर साथ दिइन् । अमेरिकी नागरिक परित्याग गरी ब्रिटिश नागरिक बन्न स्वीकारिन् । पछि हलिउड चलचित्र जगतले अमेरिकी सरकारमाथि चर्को दबाब दियो । अमेरिकी सरकार झुक्न बाध्य बन्यो र चैपलिनमाथिको प्रतिबन्ध फुकुवा भयो । सन् १९७२ मा अमेरिकी चलचित्र एकेडेमीले चैपलिनलाई सम्मान गर्ने निर्णय लिएपछि २० वर्षपछि चैपलिन, ऊना र सम्पूर्ण परिवार अमेरिका फर्के । त्यसबेला चैपलिनले ओस्कार पुरस्कार पनि ग्रहण गरे । त्यसबेला पत्रकारहरुले ऊनासित सोधेका थिए कि २० वर्षपछि स्वदेश फर्कंदा कस्तो अनुभूति भइरहेको छ ? ऊनाको जवाफ थियो, ‘मेरोनिम्ति त्यही स्वदेश हो, जहाँ मेरो लोग्ने हुन्छ । अब म अमेरिकी नागरिक हैन चार्ली चैपलिनकी पत्नी हुँ, उनीतर्फका आठ सन्तानको आमा हुँ ।’ सोही अवसरमा चैपलिनको पनि भनाइ थियो, ‘विगत ३० वर्ष मेरो जीवनको आनन्द उत्साहको वर्ष हो । ऊनाले महसुस गराइन् कि खुशी के हो ? मेरोलागि अमेरिकाले दिएको यही नै सर्वश्रेष्ठ उपहार हो ।’
अमेरिका फर्केपछि धेरैले भने कि ‘तपाईंका चलचित्रहरु अहिले पनि यहाँ लोकप्रिय छन् । सिनेमा हलमा तपाईंको चलचित्र लागेको बेला बाहिर सूचना बोर्ड झुण्ड्याइन्छ र त्यसमा लेखिन्छ– ‘हलभित्र बस्ने स्थान छैन, त्यसैले तिनीहरुले मात्र टिकट खरिदुन, जो उभिएर भए पनि चलचित्र हेर्न तयार छन् ।’ यो सुनेर ८४ वर्षका चैपलिन र ४७ वर्षीया ऊना निकै प्रशन्न भए । तीन वर्षपछि सन् १९७५ मा बेलायतकी रानी एलिजाबेथले चैपलिनलाई ‘सर’ उपाधि प्रदान गर्ने निर्णय सुनाएपछि चैपलिन इंग्ल्याण्ड गए । ऊना सँगसँगै हिँडिन् । चैपलिन चाहँदैनथे कि हिँड्दा पनि ऊना पछाडि परुन् । उनी भन्थे पनि, ‘ऊनाले गर्दा मेरो मनमा स्त्रीप्रति असाधारण सम्मान बढेको छ ।’ चैपलिनले आफ्नो आत्मकथामा पनि ऊनाको तारिफ गरेका छन् ।
उता ऊना चैपलिनबारे कमै बोल्थिन् तर एकपटक बाबु युजिनले बोल्न उक्साएपछि पनि यति मात्रै भन्न सकिन् कि ‘चार्ली चैपलिन एक पूर्ण पुरुष हुन् । मैले ऊबाट सबथोक पाएको छु, जो एउटी महिलाले पुरुषबाट पाउँछिन् । उसको हृदय सदा प्रेमपूर्ण हुने गर्छ, ऊ एकदम सरल र निष्कपट छ । उसलाई पाएर म धन्य भएकी छु । सायद मेरो निर्माण उसैको निम्ति भएको हो, मैले भाग्यमा उसैको नाउँ लेखाएर ल्याएकी छु । म अत्यन्त सुखी छु ।’
ऊनाले जीवनमा चैपलिनबाहेक कुनै परपुरुषको कल्पनासम्म गरिनन् । चैपलिनको जीवनमा ऊनाको प्रवेशअघि दर्जनौं स्त्रीले प्रवेश पाए पनि ऊनाको साथ पाएपछि अन्य स्त्रीतर्फ आकर्षित भएनन् । चैपलिनको निधनपश्चात उनका ११ सन्तानका आमा र बाबु बनेर जीवन गुजारिन् । १४ वर्षपछि ६६ वर्षको उमेरमा स्विट्जरल्याण्डमा ऊनाको पनि मृत्यु भयो । उनी प्यांक्रियाजको क्यान्सरबाट ग्रस्त थिइन् ।
मृत्युले नतोडेको प्रेम
‘यहाँसे पचास–पचास कोश दूर जब बच्चा रोता है, तो उसकी माँ कहती है– बेटा चुप होजा, नहीँ तो गब्बर सिंह आएगा ।’
हिन्दी चलचित्रको सबैभन्दा प्रख्यात यो संवाद चलचित्र ‘शोले’ को हो र चलचित्रमा यो संवाद डाकु गब्बर सिंह बनेका अभिनेता अमजद खानको मुखबाट बोल्न लगाइएको थियो । ११ वर्षको उमेरमै सन् १९५१ मा प्रदर्शित चलचित्र ‘नाजनीन’ मा बाल कलाकार, १७ वर्षको उमेरमा राजकपुरद्वारा निर्मित ‘अब दिल्ली दूर नहीं’ र चेतन आनन्दको फिल्म ‘हिन्दुस्तानकी कसम’ जस्तो दर्जनौं फिल्ममा काम गरे पनि अमजद ‘शोले’ पछि खुंखार खलनायकको रुपमा फिल्म जगतमा स्थापित भए । जन्म त पेशावर (वर्तमान पाकिस्तानको शहर) मा भएको हो । खलनायक तथा चरित्र अभिनेता जयन्तका छोरा अमजद जकारिया खानको रुपमा । पठान जातिका । सन् १९७२ मा शैला खानसँग बिहे गरे । दुई छोरा र एक छोरीको बाबु बने ।
सन् १९७८ मा ‘अपना खून’ को छायांकन हुँदै थियो । सोही स्टुडियोमा अर्कातर्फ हाँस्यकलाकार आईएस जौहरको चलचित्र ‘दि किस’ को पनि छायांकन थियो । ‘दि किस’ मा पहिलोपटक कल्पना अøयर अभिनय गर्दै थिइन् । कल्पना उनै हुन्, जसले चलचित्रमा गाएका गीत निकै चर्चित भए, जस्तो ‘हरि ओम हरि’ (प्यारा दुश्मन), ‘तु मुझे जानसे प्यारा है’ (वारदात), ‘रम्भा हो, रम्भा हो’ (अरमान), ‘परदेशी–परदेशी जाना नहीं’ (राजा हिन्दुस्तानी) । सन् १९७८ मा मिस इण्डिया प्रतियोगतामा फस्र्ट रनर अप भएपछि शुरुमा मोडल र पछि चलचित्रमा प्रवेश गरेकी ।
बेग्लाबेग्लै चलचित्रको छायांकनमा व्यस्त ३८ वर्षीय अमजद र २३ वर्षीया कल्पनाको भेट सोही स्टुडियोमा पटक–पटक भएपछि प्रेम गर्न थाले । दुवैले एक–अर्कालाई अत्यधिक माया गर्न थाले तर अमजद विवाहित थिए । त्यसैले कल्पनाले अमजदको दाम्पत्य जीवन भताभुंग पार्न चाहिनन् । उता, अमजद मुसलमान थिए, धर्मको आडमा चारवटी पत्नी राख्न पाउँथे तर उनले पनि त्यसो गर्न चाहेनन् । प्रेमी–प्रेमिका नै बनिरहन चाहे । दुवैले केही चलचित्रमा सँगसँगै काम पनि गरे । करिब १४ वर्ष कल्पनासँग प्रेममा बाँधिएका अमजदको निधन सन् १९९२ मा भइसकेको छ । अमजदकी पत्नी नबने पनि पत्नीसरह अमजदको घरमा गई बिधवा बनेर शोक मनाउन पुगिन्, कल्पना । यतिखेर उनी दुबईमा बस्छिन् । ६३ वर्षको भइसक्दा पनि अविवाहित नै छिन् ।
टिप्पणीहरू