​दातालाई ठगी कता ?

विदेशीले दिन्छन् भन्दैमा लिइहाल्ने, मिल्ने, नमिल्ने कानुनी कुरा एकातिर होलान् । सारा नेपालीको इमान–जमान ध्वस्त हुने गरी भएका व्यवहारको पनि त हिसाब विदेशीले राख्लान् नि ! ०७२ वैशाख १२ गतेको भूकम्पले काभ्रेको नालामा अवस्थित सामुदायिक विद्यालय तारापुञ्ज ढल्यो । गाउँका गरिब, दुःखीका सन्तान पढ्ने स्कुल ढलेपछि स्वाभाविक हो, दयामन भएका दाता आकर्षित हुनु ।

एक जना दाता निस्किए, लण्डनका ६८ वर्षीय गिनेट ह्यारिसन । शिवा च्यारेटी नामक संस्था, जसले अनाथ बालबालिकाको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्छ– ह्यारिसन त्यसमार्फत त्यहाँ पुगेका थिए । उनका १४ वर्षका छोरा छन्, अलेक्जेन्डर । छोरोलाई जिम्मेवार बनाउने एउटा कुरा थियो, मुख्य कुरा गरिब गाउँलेका छोरा–छोरीको स्तरीय शिक्षा–दीक्षा । मन खोलेर ह्यारिसनले १२ हजार पाउण्ड दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष हुन्, देवराज परियार । दाताले दिएका कुरा खुरुखुरु लिए । ह्यारिसनले आफ्नो पेन्सनबापतको रकम, गाडी बेचेर आएको रकम सबै त्यसमा हालेका थिए । उनको शर्त थियो, स्कुलमा छोराको नाम जोडिनुपर्ने ।

देवराजले सहमति जनाए । सामुदायिक विद्यालय समुदायमातहत हुन्छ, त्यसमा सरकारको पनि भूमिका हुन्छ । त्यस्तो संस्थामा कुनै दाताले दियो भन्दैमा दिएका चिज सरासर लिन मिल्ने कि नमिल्ने ? दिएको चिज लिए पनि समुदाय र सरकारको सहमतिबेगर विद्यालयको नाम केरमेट गर्न पाइने कि नपाइने ? प्रश्नहरू यथावतै छन् । देवराजले तारापुञ्जलाई अलेक्जेन्डर स्कुल भनी साइनबोर्ड टाँसे, ह्यारिसनलाई देखाउनका लागि । तर, अर्को वर्ष फर्केर जाँदा न छोरोको नाम भेटे, न आफ्नो सहयोग खुल्ने कुनै विषय नै । त्यही पनि देवराजले माग्न छाडेनन् । उल्टै जवाफ दिए, ‘गाउँ–गाउँमा ठूला स्कुलले गाडीमा बच्चा ओसारे । हाम्रो स्कुलको भौतिक अवस्था पनि त्यति राम्रो भएन । त्यसैले विद्यार्थी आकर्षित भएनन् । अब पुस्तकालय रंगरोगन गर्न, कक्षा राम्रो बनाउन थप पैसा लाग्ने भयो ।’

देवराजले गन मेमा फेरि स्कुल सञ्चालन गर्न यसो भन्दै पैसा मागेका हुन् । उनले सहयोगका लागि शिक्षा मन्त्रालयमा पनि चिठी पठाइएको भन्ने गरेका छन् । तर, भित्री रूपमा जग्गा बेच्ने, सम्पत्ति नष्ट गर्ने काममा देवराज तल्लीन छन् । अहिले विदेशी बूढा ह्यारिसन दूतावास, प्रहरीकहाँ उजुरी गर्दै हिँडेका छन् ।  

टिप्पणीहरू