शिविरमा बिचराहरु सुँक्कसुँक्क

तीन दशकदेखि राष्ट्रियता गुमाउनुको पीडा, त्यसमाथि वर्षौंदेखि आश्रय लिएर बसेको थातथलोबाट पनि परिवारका सदस्यलाई छानीछानी तितरवितर र छिन्नभिन्न पारिएको अर्थात् सात समुद्रवारि र पारि बनाइएको अवस्था । गरिखान सक्नेहरू त जसोतसो जिएकै छन् तर बेहाल छ, बूढाबूढी र केटाकेटीको ।

हो, अधिकांश तेस्रो मुलुक गएर जनसंख्या घटेपछि झापा र मोरङको शिविरमा रहेका भुटानी शरणार्थी समस्यै समस्याले पिरोलिन थालेका छन् । पथरीस्थित शनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिङ राईका अनुसार जनसंख्या घटेसँँँगै विश्व खाद्य कार्यक्रमले हरेक व्यक्ति र परिवारलाई दिँदै आएको सुविधामा पनि कटौती गरेको छ । पहिले विश्व खाद्यले दिनको दुई केजी चामलसहित दाल, चिनी, नुन तेल, पौष्टिक आहारलगायत सबै खाद्यान्न दिन्थ्यो । तरकारी र खाना पकाउन इन्धन पनि दिने गरिएको थियो तर यसमा करौंती चलाइएको छ ।

पहिले दुई जिल्लाका ७ वटा शिविरमा गरी करिब एक लाख १५ हजार शरणार्थी थिए । अमेरिकालगायत विभिन्न मुलुक गएर शिविर खाली हुन थालेपछि केही वर्षयता दमकको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा मात्र राखिएको छ । हाल त्यहाँ करिब ७ हजार र कागजात नमिलेर छुट भई परिचयपत्र नपाएकासमेत गरी करिब ९ हजार शरणार्थी मात्रै बाँकी छन् । तीमध्ये करिब ३ देखि ४ हजारजति तेस्रो मुलुकमा पुनर्वास जान इच्छुक छन् तर कतिपय तेस्रो मुलुकले पृष्ठभूमिका आधारमा लैजान अस्वीकार गरेका कारण पनि पीडित बनेका छन् । खासगरी बुढेसकालमा पुगेका शरणार्थी स्वदेश फर्केर मर्ने धोको पूरा गर्नका लागि देउता पुकारी बसिरहेका छन् ।

केपी ओलीसहित ३ जना प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र मन्त्री हिक्मत कार्कीलगायतलाई समेत भेटिसकेका छन् तर स्वदेश फिर्तीलगायतका मागमा नेपाल सरकार गम्भीर नभएको गुनासो गर्छन् । हजारौं भारतीयले प्रवेश गर्नासाथ नेपालको नागरिकता लिएको तर तीन दशकसम्म बस्दा पनि भुटानीलाई बेवारिसे बनाइएको उनीहरूको दुखेसो छ ।
परिवारका अरू सदस्यलाई पुनर्वासका लागि तेस्रो मुलुकमा लगिएपछि सबैभन्दा बढी बृद्धावृद्धा, एकल महिला र बालबालिकाको बिजोग भएको छ । धेरैजसो डिप्रेसनको शिकार भएको र कतिपयले आत्महत्या गरेको राई बताउँछन् । जनसंख्या घटेपछि शिविरस्थित विद्यालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।

– अम्बिका भण्डारी

टिप्पणीहरू