लालबाबु पण्डितको घोषणा : ‘अब बिदा भएँ’
एमाले नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गर्नुभएको छ । पण्डितले हिजो राति अध्यक्षले जारी गर्नुभएको तजबिजी केन्द्रीय समितिमा नाम नदेखेपछि आज सामाजिक सञ्जालमा लेख्दै एमालेको कुनैपनि कार्यकारी पदमा नबस्ने निर्णय गर्नुभएको हो ।
मोरङबाट प्रतिनिधिसभा सदस्य पण्डितले पछिल्लो निर्वाचनमा काँग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गर्नुभएको थियो । अघिल्लो पटक केपी ओली सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा पण्डितले डिभि परेर वा पिआर लिएर विदेश गएका कर्मचारीलाई पेन्सन लिन नपाउने घोषणा गरेर चर्चामा आउनुभएको थियो ।
अहिले भइरहेको दशौं महाधिवशेनमा पण्डितलाई ओली नेतृत्वको अध्यक्ष मण्डलको सदस्य बनाइएको थियो । यसअघि पार्टीको केन्द्रीय सदस्य रहिसक्नुभएका पण्डितलाई अध्यक्षले केन्द्रीय सदस्य समेत नबनाएपछि विद्रोहको सट्टा उहाँले निस्क्रिय राजनीतिको बाटो रोज्न लाग्नुभएको बताइन्छ ।
पण्डितले सामाजिक सञ्जालमा उक्त स्टाटस लेखेपछि अधिकांशले आलोचना गरेका छन् । एक जना फेसबुक फ्रेण्ड उदय पुरीले विगतमा वरिष्ठ नेता माधव नेपालको आडमा पटक पटक मन्त्री भएको तर पछिल्ला दिनमा उनै नेपाललाई गाली गरेको श्राप लागेको भनेर लेखेका छन् । त्यसैगरी नमराज न्यौपानेले साइकल यात्राको शुभकामना भन्दै लेखेका छन्,‘माधव नेपाललाई गाली गरेको श्राप लाग्यो ।’
टिप्पणीहरू