मोरङमा देउवालाई सिटौलाको समर्थन, कोइराला समूह सकसमा

मोरङमा देउवालाई सिटौलाको समर्थन, कोइराला समूह सकसमा

-पूजा लम्साल

नेपाली काँग्रेसका विभिन्न जिल्ला अधिवेशन आन्तरिक समूहको निम्ति पेचिलो बन्दै गएको छ । त्यही क्रममा सिटौला गुटका उम्मेदवार यदुकुमार विष्टले संस्थापनपक्षका उम्मेदवार अर्थात् देउवा गुटलाई सर्मथन गरेपछि मोरङको सभापति हत्याउन कोइराला गुटलाई हम्मेहम्मे पर्ने भएको छ ।

अस्ति भएको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि मोरङ काँग्रेसमा आज सभापति पदका लागि पुनः मतदान हुँदैछ । मतदानमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार डा. शेखर कोइराला समूहका डिकबहादुर लिम्बु र शेरबहादुर देउवा समूहका दिलिप गच्छदार बीच पुनः चुनावी भिडन्त हुन लागेको हो ।

तेस्रो स्थानको मत ल्याएका कृष्ण सिटौला समूहका यदुकुमार विष्ट चाँही मैदानबाट बाहिरिएका छन् । तर उनले देउवा पक्षका उम्मेदवारलाई समर्थन गर्दै आफूलाई मत दिने मतदातालाई निर्धक्कसँग मत दिन आग्रह समेत गरेका छन् । गच्छदारलाई कोइराला समूहका भनिएका बिराटनगरका मेयर भीम पराजुलीले समेत साथ दिएका छन् ।

वर्तमान सभापति समेत रहेका डिकबहादुरले मोरङमा काँग्रेस संगठन ध्वस्त बनाएको र पार्टी कार्यालयबाट नभई कोइराला निवासबाट चलाएको आरोप प्रतिष्पर्धीहरुको छ । सभापतिका उम्मेदवार गच्छदारले आफूले जितेमा पार्टीलाई पूर्वसभापति अमृत आर्यालकै समयमा जस्तो सशक्त अवस्थामा ल्याएर मोरङको सबै क्षेत्र कब्जा गर्ने दाबी गरेका छन् ।

उता कोइराला समूहले भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका सिटौला समूहका यदु विष्टले आग्रह गर्दैमा उनलाई मत दिने सबैले गच्छदारलाई भोट नदिने बताएका छन् । उनले भने, ‘फराकिलो मतान्तर भएकाले डिकबहादुरले नै जित्छन् ।’

अस्तिको चुनावमा पौडेल–कोइराला समूहका डिकबहादुर लिम्बुले १ हजार ५ सय ४४, देउवा समूहका दिलिप गच्छदारले १ हजार १ सय ५९ र सिटौला समूहका यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए । जिल्ला समिति चयन गर्न मोरङ काँग्रेसका १२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट विजयी भएका कुल ३ हजार ४ सय ५५ क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन् । मोरङ काँग्रेसमा एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव र ५४ जना सदस्यसहित जम्मा ५९ पदमा उम्मेदवारहरु निर्वाचित हुनेछन् ।

टिप्पणीहरू