​फोरमले अब के गर्नुपर्छ

प्रदेश २ मा फोरम–राजपाको गठबन्धन सरकार छ भने अन्य ६ वटै प्रदेश र केन्द्रमा नेकपाले सरकार चलाइरहेको छ । चुनाव गराउँदासम्म सरकारमा रहेको कांग्रेस सबैतिर कमजोर प्रतिपक्षको भूमिकामा छ । अहिले मुख्यतः तीनवटा शक्ति देखा परेका छन्– नेकपा, कांग्रेस र संघीय समाजवादी फोरम । मधेसको अर्को शक्ति राजपा फोरमसँग एकीकरणको अवस्थामा रहेको घटनाक्रमले देखाइरहेको छ । 

संविधान संशोधन र विगतका सम्झौता–सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित फोरम सरकारमा छ र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीजस्ता महŒवपूर्ण परिवर्तनमा सहभागी भएको  छ । 

नेकपा गुट, उपगुट र सत्ता लुछाचुँडीले कमजोर बन्दै गएको अनि कांग्रेस पुरानै शैलीमा अल्मलिइरहेकाले फोरमले आफूलाई सबै जातजातिको समान थलो बनाउनुपर्छ । खस, आर्यको भूमिकालाई बढाउँदै, उनीहरुको मन जित्दै अघि बढ्न सक्नुपर्छ । सिके राउतजस्ता विखण्डनवादीको खुलेर विरोध गर्नुपर्छ । फोरमलाई हिमाल, पहाड, तराई सबैको साझा फूलबारी बनाउनुपर्छ । यही राज्यव्यवस्था र प्रणालीबाट समाजवाद आउन सक्दैन । 

 देशमा संघीयता लागू भई प्रदेश सरकार बनेका छन् तर मुख्यमन्त्रीको अधिकार सिडिओको जति पनि छैन । राज्यले बहुभाषिक नीतिलाई मान्यता दिएको छैन । मातृभाषाहरुको आधारमा शिक्षा लिने व्यवस्था छैन । जातीय जनसंख्याको आधारमा प्रतिनिधित्वको प्रावधान छैन । यतिसम्म कि संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक नेपालको संविधान २०७२ लेख्नसमेत कञ्जुस्याइँ गरिएको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा न्यायाधीश नियुक्त गर्नुपर्ने, राज्यको धर्म समान हुनुपर्नेलगायत थुप्रै प्रावधान थप्नुपर्ने छ ।

– रामप्रसाद रिजाल, केन्द्रीय सदस्य, संघीय फोरम नेपाल

टिप्पणीहरू