​रातारात यसरी आइलागिन् रानी

  • राजेन्द्र स्थापित

थाइल्याण्डका राजा महाबजिरालोङकर्नको शनिबारदेखि थालिएको राज्याभिषेक कार्यक्रम सोमबार सम्पन्न भएको छ । तीन दिनसम्म ठूलो तामझामसाथ मनाइएको कार्यक्रमका लागि राज्यले ३ करोड डलरभन्दा बढी खर्च गरेको थियो । ७६ प्रदेशबाट बैंकक ल्याइएको जलमा बजिरालोङकर्नले नुहाए । बेलायती महारानी एलिजाबेथले लगाउने श्रीपेचभन्दा ७ गुणा गह्रुँगो (७.३ किलो) मुकुट लगाए । लावालस्करसहित नगर परिक्रमा गरे । देवराजाको उपाधि प्राप्त गरे । सम्पूर्ण धार्मिक संस्कार बौद्ध भिक्षु तथा हिन्दु ब्राह्मणहरुबाट सम्पादन गरियो । यसभन्दा अघि त्यहाँ सन् १९५० को मे ५ मा राजा भूमिबोलको राज्याभिषेक गरिएको थियो । करिब ७० वर्ष शासन गरेका भूमिबोलको निधन तीन वर्षअघि भएको थियो । 

बजिरालोङकर्न सन् १७८२ मा शुरु भएको चक्री वंशका दशौं राजा हुन् । थाइल्याण्ड हुनुअघि सियामको नाउँले प्रसिद्ध उक्त मुलुकमा राजतन्त्रको इतिहास लामो छ । बुद्धधर्मावलम्बी बहुल मुलुक थाइल्याण्डको राजतन्त्र सन् १९३२ मा संवैधानिक बनेको हो । वर्तमान राजाका पिता भूमिबोल अब्दुल्यादेज सन् १९४६ मा राजा घोषित भएका थिए । ७० वर्ष १ सय २६ दिन राज्य गरेका उनको कार्यकालमा कूल ३० जना प्रधानमन्त्री बने । विश्वको इतिहासमा सबैभन्दा लामो शासन गर्ने रेकर्ड राखेका उनको सम्पत्ति सन् २०१४ मा तीन अर्ब डलर थियो । निधन सन् २०१६ को अक्टोबर २३ मा भएको भए पनि तत्कालीन युवराज बजिरालोङकर्नले एक वर्ष शोक मनाउने घोषणा गरे । भूमिबोलको दाहसंस्कार सन् २०१७ को अक्टोबर २६ मा मात्र भयो । बजिरालोङकर्न पिताको निधनलगत्तै राजा बनेनन् । शोक मनाउन समय मागे । र, बल्ल ४९ औं दिनमा राजा बने । 

भूमिबोललाई थाई जनता असाध्यै मन पराउँछन् । सम्मान गर्छन् । देवतासरह मान्छन् तर उनका एक्लो छोरा बजिरालोङकर्नलाई भूमिबोललाई मान्ने राजतन्त्रवादीहरु मन पराउँदैनन् । अधिकांश समय विदेशमा बिताउने, स्त्रीलम्पट स्वभाव, जनतासित भिज्न नचाहने, समय–समय विवादमा आइरहने चरित्रका कारण थाई जनता उनीसित रुष्ट छन् । कतिसम्म भने राजा बनिसकेपछि पनि दुई वर्ष विदेशमै बिताए । जर्मनीको म्युनिखमा एक करोड ३० डलरमा किनिएको उनको भव्य कम्पाउण्डसहितको घर छ । त्यसबाहेक प्रेमिकासँग देश–देशान्तर, शहरहरु घुमिरहन्छन् । भ्रमणमा प्रेमिका सुथिदा तिदजेइसहित ५०–६० जना नोकर–चाकर हुने गर्छन् । एकपटक होटलमा बस्दा ३० वटाभन्दा बढी कोठा लिन्छन् । उनीहरु होटलमाथि उक्लने र ओर्लने गर्दा अरु ग्राहकलाई आ–आफ्नो कोठामै थुन्न लगाइन्छ । फोटोसमेत खिच्न दिइन्न । राजा बनेको दुई वर्षभित्र शाही परिवारको व्यापार, सम्पत्तिमाथि कब्जा जमाई निजी सम्पत्ति ४० अर्ब डलर पु¥याए । यो कार्यको विरोध गर्नेहरुलाई ३ देखि १५ वर्ष जेल सजायँ दिएका छन् । 

७० वर्ष भूमिबोलको शासन अनुभूत गरेका थाईहरु नयाँ राजाको जीवनशैली देखेर चकित छन् । यसमाथि राज्याभिषेक समारोह शुरु हुनु दुई दिनअगाडि जनतासामु थप एउटा प्याकेज फ्याँकेर चर्चामा आएका छन् । कसैलाई सुइँको नदिई प्रेमिका सुथिदासँग बिहेको घोषणा । ६६ वर्षीय बजिरालोङकर्नको यो चौथो बिहे हो । उनले गर्ने बिहे र सम्बन्धबिच्छेदबारे आमा सिरिकित पनि अनभिज्ञ छन् । ८७ वर्षीया सिरिकित दिवंगत राजा भूमिबोलकी एकमात्र रानी हुन् । भूमिबोल र उनको भेट सन् १९४६ मा पेरिसमा भएको थियो, जतिखेर भूमिबोल फ्रान्सका लागि थाई राजदूत थिए । उनीहरुको बिहे भूमिबोलको राज्याभिषेक हुनु केही समयअगाडि भएको हो ।

बुधबार रानी घोषित र शनिबार अभिषेक गरिएकी सुथिदा बजिरालोङकर्नभन्दा २६ वर्ष कान्छी छिन् । सन् २००० मा सञ्चार कलामा स्नातक गरेपछि थाई विमान सेवामा जागिरे बनिन् । लगत्तै सेनामा भर्ती भइन् र थाई सेनाद्वारा सञ्चालित विमानमा परिचारिका बनिन् । त्यसबेला बजिरालोङकर्न सेनाको विमान उडाउँथे । विमान चालक र परिचारिकाबीच पहिलो भेटघाट विमानभित्रै भयो । सेकेण्ड लेफ्टिनेन्टमा जागिर खाएकी सुथिदा ६ महिनामै बढुवा भई फस्र्ट लेफ्टिनेन्ट बनिन् । सन् २०१२ मा युवराजले सुथिदालाई सेतो हात्तीको मूर्ति प्रदान गर्दै सम्मानित गरे, तब पहिलोपटक मिडियाले बजिरालोङकर्न र सुथिदाबीचको सम्बन्धबारे हल्का जानकारी पाए । ‘इमान्दारिता, बफादारिता, कर्तव्यपालन, त्याग…’ गरेबापत युवराजबाट प्राप्त सम्मानको लगत्तै पुनः बढुवा भइन् र लेफ्टिनेन्ट कर्णेल बनिन् । पहिलोपटक मिडियामा युवराज र सुथिदाको फोटो छापिएको यसै बेला हो । 

सन् २०१३ मा बजिरालोङकर्नको दबाबमा सुथिदा राजपरिवारको अंगरक्षक इकाइमा सरुवा भइन् । लगत्तै उक्त इकाईको उपकमाण्डर बनिन् । र, सन् २०१६ मा जर्नेल पदमा पुगिन् । तर थाई जनता र मिडियाले बजिरालोङकर्न र सुथिदाको सम्बन्ध बिस्तारबारे चालै पाएनन् । सन् २०१६ मा जब यी दुई म्युनिख विमानस्थलमा सँग ओर्लिए, तब सबैले सम्बन्धबारे थाहा पाए । समाचार र फोटोहरु छापिए । त्यसबेला सुथिदाले हाई हिल जुत्ता लगाएकी थिइन् । कसिएको ट्राउजरमा थिइन् । पिठ्युँ उदांगो भएको छोटो लुगा लगाएकी थिइन् अनि एउटा हातले ब्याग र अर्को हातले बजिरालोङकर्नको मन पर्ने कुकुर ‘फु फु’ च्याप्दै बजिरालोङकर्नसँगै हिँडेकी थिइन् । त्यसैबखत युरोपका सञ्चारमाध्यमले सुथिदा बजिरालोङकर्नकी अघोषित ‘पत्नी’ भएको समाचार सम्प्रेषण गरे तर थाई सरकारले उक्त समाचारको खण्डन ग¥यो । 

सन् २०१६ को अक्टोबरमा भूमिबोलको निधन भएपछि बजिरालोङकर्नले सुथिदालाई राजपरिवारको अंगरक्षक इकाइभित्र विशेष इकाइको कमाण्डर बनाइदिए । सन् २०१७ को अक्टोबरमा भूमिबोलको अन्त्येष्टि समारोहमा जब सैन्य परेड गरियो, सुथिदाले पहिलोपटक बजिरालोङकर्नसँगै भाग लिइन् । त्यसो त समारोहमा बजिरालोङकर्नकी ‘पत्नी’ मानिएकी युवती सिनिनात पनि थिइन् । यसको बाबजुद थाई जनताले सुथिदालाई रानी नै बनाउँछन् भन्ने विश्वास कसैलाई थिएन तर मे दिवसको दिन अकस्मात सबै टेलिभिजनले बजिरालोङकर्नले सुथिदाको टाउकोमा जल अर्पण गर्दै गरेको र पछि विवाह दर्ता किताबमा संयुक्त रुपमा हस्ताक्षर गर्दै गरेको श्रव्यदृश्य प्रसारण गरेपछि मात्र आमजनता आश्चर्यचकित बने । उनीहरुले चालै नपाई सुथिदा रानी बनिन् । नभन्दै दुई दिनपछि थाई रानीको रुपमा अभिषेकसमेत भइन् । 

बजिरालोङकर्नले पहिलो बिहे २५ वर्षको उमेरमा सन् १९७७ मा २० वर्षकी सोमसावली कितियाकारासँग गरेका थिए । सोमसावली छोरी .(बज्राकितियाभा) को आमा बनिन् । छोरी पाएलगत्तै बजिरालोङकर्न पत्नीदेखि भाग्न र, अभिनेत्री युवाधिदा पोल्परासार्थलाई प्रेम गर्न थाले । लगत्तै सँगै बस्न । यसबीच युवाधिदा पाँच सन्तानको आमा बनिन् तर बजिरालोङकर्नको वैध पत्नी सोमसावली नै बनिरहिन् । बजिरालोङकर्नले युवाधिदासँग बिहे गर्न सोमसावलीसँग सम्बन्धबिच्छेद गर्न खोजे तर उनी पतिसित सम्बन्ध त्याग्न तयार भइनन् । केही सीप नचलेपछि सन् १९९३ को जनवरीमा बजिरालोङकर्न अदालत गए । सम्बन्ध राख्ने मामिलामा पूर्णतः असफल भएको आरोप पत्नीमाथि लगाए । सात महिनापछि अदालतले युवराज बजिरालोङकर्नको पक्षमा फैसला दियो । 

बजिरालोङकर्नले दोस्रो बिहे युवाधिदासँग सन् १९९४ को फेबु्रअरीमा गरे । कार्यक्रममा छोरा र बुहारीलाई आशीर्वाद दिन रानी सिरिकित उपस्थित भइनन् । यो दाम्पत्य जीवन पनि दुई वर्ष मात्र टिक्यो । युवराज्ञी युवाधिदा अचानक छोराछोरीसहित बेलायत भासिइन् । यता बजिरालोङकर्नले पत्नीमाथि विवाहेत्तर सम्बन्ध राखेको आरोप लगाए । उनको भनाइमा युवाधिदा र ६० वर्षीय एअर मार्शल आनन्द रोत्सामखानबीच अनैतिक सम्बन्ध थियो । यहाँसम्म कि पछि युवाधिदाको कूटनीतिक पासपोर्टसमेत खोसियो । यतिखेर उनी अमेरिकामा छिन् । 

सन् २००१ को फेबु्रअरी १० मा श्रीरश्मी सुवादीसँग बजिरालोङकर्नले तेस्रो बिहे गरे तर सन् २००५ सम्म गुपचुप राखियो । जब श्रीरश्मी छोराको आमा बनिन्, तब बिहे भएको घोषणा गरियो । श्रीरश्मी बजिरालोङकर्नको सेवामा सन् १९९२ देखि थिइन् । त्यसैबेलादेखि दुईबीच सम्बन्ध बिस्तार भएको मानिन्छ । सन् २०१४ मा एकाएक बजिरालोङकर्नले गृह मन्त्रालयलाई पत्र लेखी श्रीरश्मीको शाही पद खोस्न माग गरे । उनका नातेदारहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए । अन्त्यमा श्रीरश्मीले ५५ लाख डलर लिएर सम्बन्धबिच्छेद गर्न मञ्जुरी दिइन् । यसबीच नै बजिरालोङकर्नको सम्बन्ध सुथिदासँग विस्तार भयो । नभन्दै उनले सुथिदालाई चौथो पत्नी मात्र हैन, रानी नै बनाए ।
 

टिप्पणीहरू