नियम मात्रै कोरेर के गर्नु ?

स्नातकको अनलाइन सर्टिफिकेट पेश गरेका मधुकर कार्कीको प्रधानसेनापति हुने बाटो जनआस्थाको खुलासाका कारण छेकिँदैछ ।

पूर्वमाओवादी पृष्ठभूमिका यमबहादुर अधिकारी (प्रतिक्षा) लाई पछि पारेर मधुकरलाई प्रधानसेनापति बनाउने गरी बढुवा दिइँदैछ भन्ने समाचार गतसाता सम्प्रेषित भएको थियो । 

दरबार हत्याकाण्डको बेला घटनास्थलमै उपस्थित भएर पनि राजा वीरेन्द्र, युवराज दीपेन्द्रलाई जोगाउन नसकेबापत राजु कार्की, गजेन्द्र बोहोरा, सुन्दरप्रताप रानाहरु बर्खास्त हुने । तर, अधिराजकुमार निराजनलाई जोगाउन नसक्ने मधुकर कार्की उल्टै पुरस्कृत भएर ज्ञानेन्द्रको एडिसीमा सर्लक्कै बढुवा र सरुवा हुने अस्वाभाविक घटना भएको थियो । अब उनलाई मात्रै होइन, उनीजस्ता अरु थुप्रैलाई जोगाउनै नसकिने गरी शैक्षिक प्रमाणपत्रका छिद्र केलाइँदैछ । मधुकर भएनन् भने सशस्त्र द्वन्द्वकालमा मजैले खटिने रेञ्जर गणका अनुपजंग थापाको खप्पर बलियो देखिन्छ ।

अहिले वैशाखमा विवाहको सिजन छ । जर्नेलका छोरीहरुको विवाहको लहरै छ । जंगी अड्डाले सामाजिक सदाचार कार्यविधि नै बनाएर विवाह, भोज र जमघटहरुमा नियन्त्रण गरेको छ । त्यसअनुसार, विवाहका नाममा जिन्सी उपहार लिने र दिने कामलाई निषेध गरिएको छ । तर, नगदमाथि कसले नियन्त्रण गरोस् ? हालै महासेनानीबाट अवकास पाएका हेमन्त शर्माकी छोरीको भर्खरै विवाह भयो । कल्याणकारीका मानार्थ उपरथी धनिराज कार्कीकी छोरीको विवाह पनि उस्तै रमाइलोसँग सकियो । पोहोर देवकुमार सुवेदीकै शैलीमा डिजिएमआई (सैनिक गुप्तचर) प्रमुख झंकरबहादुर कडायतकी डाक्टर छोरीको पनि विवाह आउँदैछ । जतिसुकै कडाइ गरिए पनि बाहिनी, पृतनाहरुबाट कोसेली पुग्ने चलन रोकिएो पाइन्न । 

उता, तीनतारे जर्नेल भइसकेकालाई आ–आफ्नो क्षेत्रको कामको अनुगमन गर्ने गरी सम्मान गरेजस्तो गर्न लागिएको छ । यसैक्रममा गौरवसमशेरको पालामा प्रधानसेनापति हुनबाट रोकिएका, पूर्वप्रधानसेनापति गडुलसमशेर राणाका ज्वाइँ नेपालभूषण चन्द कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित माइक्रो बैंकिङ, ऋणको सुविधाजस्ता कामको अनुगमन गर्ने गरी तोकिएका छन् । यसले गर्दा सेनाप्रति भूपूहरुको माया बढ्ने, गल ब्लयाडरको अपरेशन गराई पूर्व भारतीय सेनाध्यक्ष दलवीर सिंहको स्वागतमा समेत खटिन भ्याएको बहालवाला सैनिक नेतृत्वले अग्रजप्रति सम्मान प्रकट गर्दछ भन्ने सन्देश जाँदैछ ।

– जंगी जवानहरू 

टिप्पणीहरू