क्षमता होस् त यस्तो होस्
हेलिकप्टर दुर्घटनामा पर्नु एक महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारी चन्द्रगढी विमानस्थल निरीक्षण गर्न पुगेका थिए । सर्ट–पाइन्टमा ठाँटिएकी क्यामेरावाल एक महिला सँगै अवतरण गरिन् ।
मन्त्रीले केही पर्यटकीय स्थान घुम्न भ्याए । सँगै थिइन् उनी । बिर्तामोडको होटल हेभनमा मन्त्री अधिकारीको पत्रकार सम्मेलन थियो । उनी त्यहाँ पनि सँगै पुगिन् । झापाली पत्रकारसँग उनलाई चिनजान गराउन अघि सरे नेकपाका जिल्ला अध्यक्ष ।
त्यसयता कृतु भण्डारी निरन्तर झापामै देखा परिन् । कहिले चिन्तन पाठकसँग त कहिले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसँग । वैशाख ९ गते चिन्तन र कृतु काठमाडौं उड्ने बेला कांग्रेस सभापति शेरबहादुर देउवा झापा ल्याण्ड भए । कांग्रेसको जिल्ला तहका नेताभन्दा पहिले उनी अघि सरिन् । र, हात मिलाएर स्वागत गर्न भ्याइन् । ठ्याक्कै एक सातापछि कृतुले झापामा गरिरहेको गतिविधिबारे जनआस्थामा समाचार आएपछि हल्लीखल्ली मच्चियो । मुख्यमन्त्रीले समाचार लेख्ने पत्रकार पत्ता लगाउन आफ्ना प्रेस सल्लाहकारलाई अह्राए ।
समाचार आएको ठ्याक्कै ११औँ दिनपछि अर्थात् वैशाख २९ गते बिहानै कृतु बिर्तामोडमा देखा परिन् । अविवाहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल विभिन्न विद्यालय अनुगमनका लागि झापा गएका बेला नेकपाको बिर्तामोडस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन राखियो । प्रहरीले मन्त्रीको गाडीलाई एस्कर्टिङ गर्दै पार्टी कार्यालयसम्म पु¥यायो ।
मन्त्रीसँगै कृतु ओर्लिएपछि सबैले मुखामुख गरे । पार्टी कार्यालयमा जिल्ला अध्यक्ष चिन्तन नहुने कुरै भएन । पत्रकार सम्मेलनमा उनले मन्त्रीको फोटो खिचिन्, मन्त्रीले बोलेका कुरा डायरीमा नोट गरिन् । पत्रकार सम्मेलन चाँडै सकेर मन्त्री धेरैवटा कार्यक्रम भ्याउनु छ भन्दै गाडी चढे । मन्त्रीसँगै उनै कृतु बसिन् । गाडी अघि बढ्न लाग्दै थियो, झापाका एक पाका पत्रकारले मन्त्रीका स्वकीय सचिवलाई फ्याट्टै सोधे, ‘भित्र मन्त्रीसँग बस्ने स्त्री को हुन् ?’ ती सचिवले जवाफ दिए, ‘उहाँ वरिष्ठ पत्रकार, मन्त्रीज्यूसँग काठमाडौंबाटै आउनुभएको ।’
नेकपाका अधिकांश केन्द्रीय नेतासँग कृतुको अचम्मको दोस्ती छ । जिल्ला तहका नेताहरू कृतुकै माध्यमबाट केन्द्रीय नेतासँग सम्बन्ध बढाउँछन् । त्यसो त झापा गएका बेला उनी अरूका छेउमा नेता र मन्त्रीलाई मात्र फोन लगाउँछिन् । अरूका छेउमा फोन थिचेर ‘मन्त्रीज्यू, नमस्कार’ भन्छिन् ।
मुख्यमन्त्री शेरधन राईको ठाडो आदेशका भरमा यिनलाई झापाका अधिकांश स्थानीय तहले डकुमेन्ट्री बनाउने काम दिएका छन् । स्थानीय तहका गाडीमा दिनभर घुमिन् । कुनै स्थानीय तहमा कुरा नमिल्दा ठाउँको ठाउँ शेरधनलाई फोन लगाएर थर्काउन लगाइन् । चिन्तनसँग काठमाडौं आएकी कृतु फेरि झापामै गएको देख्दा अचम्म त हुने नै भयो, मन्त्री पनि कृतुको घरसम्मै पुगेर फाटो खिचाएको पनि देख्न पाइयो ।
— हरिनारायण धमला
टिप्पणीहरू