देशभरि माओवादीको अवस्था के देखियो ?
– अम्बिका भण्डारी
शनिबार नेकपा माओवादी केन्द्रले भौगोलिक सात प्रदेश र दुई विशेष प्रदेश गरी पूर्वदेखि पश्चिमसम्मका ९ वटा प्रदेशको भिडियो डिस्प्ले गर्दै प्रदेश अधिवेशन उद्घाटन गरिरहँदा केही रोचक दृश्य देखिए । घरी लाइन गएर त घरी इन्टरनेट स्लो भएर डिस्टर्ब भएको बाहेक प्रदेश अधिवेशनहरू हेर्न लायककै थिए ।
कतै ‘प्रदेश सम्मेलन’ त कतै ‘प्रदेश अधिवेशन’ लेखिएका थिए । न्वारान नै नभएको प्रदेश १ र गण्डकीमा ‘प्रदेश अधिवेशन’ भइरहँदा अन्यत्र भने ‘प्रदेश सम्मेलन’ भइरहेका थिए । केन्द्रीय नेतृत्वले समेत ‘महाधिवेशन’ को सट्टा ‘राष्ट्रिय सम्मेलन’ गर्ने भनिरहँदा प्रदेशले सम्मेलन लेख्ने कि अधिवेशन भन्ने कुरामा कन्फ्युजन भएको हो कि संघीयताको स्वायत्तता उपयोग गरिएको हो हेर्नेलाई नै कन्फ्युज भयो ।
प्रदेश १ मा बसेर प्रदेश सम्मेलन हेरिरहँदा नौ प्रदेशका सबै हल खचाखच देखिन्थे । मोरङको बिराटचोकस्थित जेसिजमा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि तथा पर्यवेक्षक आधा हलभित्र र आधा बाहिर बसेका थिए ।
प्रदेशपिच्छे पार्टी सदस्य संख्याको विवरण पहिलोपटक सार्वजनिक गरियो, जसले माओवादी केन्द्रका पार्टी सदस्य झण्डै आठ लाख पुग्न लागेको भनी केन्द्रीय नेतृत्वले सार्वजनिक गरेको विवरणलाई पुष्टि गथ्र्याे ।
हुन त माओवादी केन्द्रले यसअघि अनलाइनमार्फत सदस्यता नवीकरणको अभ्यास थालेर प्रविधिमा एक कदम अगाडि रहेकोे सन्देश दिइसकेको हो । प्रदेशको जमघटमा पनि भर्चुअल अभ्यास राम्रैसँग गरिएको हो ।
सैन्य परेडलाई कमाण्डरले निर्देश गरेकै शैलीमा कतै कार्यक्रमको प्रस्तुति नमिलेको भए सबै प्रदेशमा सुनिने गरी प्राविधिकले एनाउन्स गर्ने, होहल्ला भए वा काठमाडाँैबाट उद्घोष गरिएभन्दा फरक भए कन्ट्रोल रुमबाटै त्यसलाई रोक्न लगाउने आदि हेर्दा माओवादी केन्द्रले प्रदेश सम्मेलन÷अधिवेशनमार्फत प्रविधिमा छलाङ मारेको भन्न हिच्किचाउनुपर्ने छँदै थिएन ।
भर्चुअल प्रदेश सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष सुरेश राईले जिल्ला, निर्वाचन क्षेत्र र पालिकासहित ११ सय ५७ वडामा फैलिएका पार्टी सदस्यहरूसमेतको फेहरिस्त सुनाए । प्रदेश १ मा खुला सत्रदेखि नै प्रतिनिधि तथा पर्यवेक्षकको विवरण इन्ट्री गर्दै हलमा प्रवेश गर्ने बेला एक हजार तिरेपछि पाइने फाइल र रातो क्याप खोजिएको हो ।
प्रदेश अधिवेशन हो कि सम्मेलनको उद्घाटनमा अर्थ न बर्थको आमसभावाला रमिता नदेखाइनु पनि माओवादीले गरेको नवीनतम अभ्यास नै थियो । गाउँ र वडाबाट छनिएका प्रतिनिधि पर्यवेक्षकहरूलाई होटलमा बास नबसाउने, नजिककाले आ–आफ्ना घर र टाढाकालाई शुभेच्छुकहरूका घरमा बसाउने भनिए पनि प्रदेश १ को उद्घाटनको दिन विराटचोकका होटल खचाखच भएपछि प्रतिनिधि तथा पर्यवेक्षक इटहरीका होटल होटल चहार्न व्यस्त थिए ।
उद्घाटन समारोहमा माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जिल्ला, निर्वाचन क्षेत्र, पालिकासहित १२ सय १३ वडा र पार्टी सदस्यहरूको वृत्तान्त सुनाइरहँदा कुन प्रदेशमा कुन्नि माइकनेर बेवी क्राइङ अर्थात् बच्चा रोइरहेको आवाज गुञ्जिरहेको थियो ।
बागमती अध्यक्ष नारायण दाहालले ११ सय २१ वडामा पहिले १ लाख १७ हजार सदस्य रहेकोमा हाल १ लाख ४७ हजार २ सय ९० संगठित सदस्य कम्प्युटरमा इन्ट्री भइसकेको र १० हजार इन्ट्री हुन बाँकी रहेको विवरण सुनाएका थिए । पोखरा सभागृहमा भएको गण्डकी अधिवेशनमा प्रदेश अध्यक्षको लाइभ संबोधन भइरहँदा लाइन डिस्टर्ब भएको थियो ।
वर्षमान र ओनसरीको अनुपस्थितिमा भएको लुम्बिनी प्रदेश सम्मेलनमा सचिव जगप्रसाद शर्माले १ लाख ८२ हजार पार्टी सदस्य रहेको डाटासहित त्यहाँको पार्टीगत रिपोर्टिङ गरेका थिए । त्यसैगरी, कर्णाली प्रदेशमा ८५ हजार पार्टी सदस्य रहेको वृत्तान्तसहित हिमपात आदिको कारण ४ वटा पालिकाको अधिवेशन हुन बाँकी रहेको व्यहोरासहितको विवरण सुनाइएको थियो ।
त्यस्तै, सुदूरपश्चिमका माओवादी अध्यक्ष शरद्सिंह भण्डारीले ८८ पालिकामध्ये एउटा र २० वडाको अधिवेशन हुन नसकेको सुनाए । सुदूरपश्चिम प्रदेश मा ८० हजार ४ सय २७ जनाले सदस्यता नवीकरण गरेको वृत्तान्त सुनाइएको थियोे ।
प्रदेश जमघटमा डेढ महिनाअघि गठित उपत्यका विशेष प्रदेशका अध्यक्ष लेखनाथ न्यौपानेले ६ सय ६० वटा सेल, उपशाखा, शाखा र ६ महाशाखासहित २२ हजार पार्टी सदस्य भएको रिपोर्ट सुनाएका थिए । रिपोर्टिङको अन्त्यमा प्रदेश सम्पर्क समन्वय समिति अध्यक्ष सत्या पहाडीले पनि विशेष प्रदेश बनेको एक महिनाको प्रगति सुनाएकी थिइन् ।
एकै जना सञ्चालकले चलाएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशबाट नारायण दाहालले अध्यक्षता गरेका थिए । जसमा ऊर्जामन्त्री पम्फा भुसाल, नारायणकाजी श्रेष्ठ, बागमती संयोजक हितमान शाक्यलगायतको आतिथ्यता थियो । प्राविधिक समस्या आए वा कुनै प्रदेशको स्टेज वा हलतिर फोकस गर्नुपरे ‘मिलनजी’ भन्दै ध्यानाकर्षण गराइएको सुनिन्थ्यो ।
रिपोर्टिङयुक्त मन्तव्यपछि काठमाडौंबाटै प्रत्येक प्रदेशलाई एकमुष्ट सम्बोधन गरेका प्रचण्डले साम्राज्यवादीले संरक्षणवाद र समाजवादको मोडेल चोरेर गरिबलाई के–के दिई लोभ्याउने, कम्युनिष्ट पार्टी र नेताका कमजोरी पत्ता लगाउने अनि फुट गराएर सम्झौता वा सत्तामा पु¥याई पार्टीको स्पिरिट बिगार्ने गरेकाले विश्वमा कम्युनिष्ट आन्दोलन मन्द हुँदै गएको बताएका थिए ।
गोर्भाचोभलाई बिगार्न नोबेल पुरस्कार दिइएको उदाहरण दिँदै प्रचण्डले साम्राज्यवादले कम्युनिष्ट पार्टीलाई पुँजीवादी बनाउने काम गरिएको बताए । साम्राज्यवादकै बखानमा लामै भाषण दिएका प्रचण्डले साम्राज्यवादीहरूले उत्पादनमूलक क्षेत्रमा भन्दा अन्यत्रै लगानी गर्ने गरेको तथा एडिबी, विश्व बैंकजस्ता परियोजना थोरै लगानी गरेर धेरै लुट्ने माध्यम भएको बताए ।
त्यसैदिन शेयर बजारजस्ता क्षेत्र पनि साम्राज्यवादकै एक रुप भएको र त्यो उत्पादनमूलक नभएको भनी उनले दिएको एक भाषणले दुई–तीन दिनमै नेपालको शेयर बजार अर्ब होइन, खर्बको हिसाबले घटेको छ ।
टिप्पणीहरू