यूरोपमा देखियो नेपाली दानव

-इन्दिरा चाम्लिङ

युरोपको मुटु मानिने बेल्जियमको लुभेन शहरमा नेपाली समुदायमाझ लघुचलचित्र दानव सार्वजनिक गरिएको छ । युरोपमा ‘लिभिङ टुगेदर’ को परम्परालाई व्यंग्य गर्दै नेपाली युवा पुस्तालाई उक्त विकृतिमा नलाग्नेसन्देश चलचित्रमा दिइएको छ । आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन प्रेरित गर्ने सन्देश लघुचलचित्र ‘दानव’ मा रहेको छ ।

झुठो प्रेमको मायाजालमा फसाई ‘लिभिङ टुगेदर’ को माध्यमबाट महिलाको शोषण गर्ने गरिएको कथाको मुख्य विषय छ । झन्डै आधा घण्टाको चलचित्र व्यक्तिगत लगानीमा सीमित जनशक्तिका बाबजुद कडा परिश्रममा बजारमा ल्याउन सकिएको कलाकार, निर्माता एवम् निर्देशक रफी साहले बताएका छन् ।

बेल्जियमको शैक्षिक नगरी लुभेन शहरमा छायांकन गरिएको उक्त लघुचलचित्र आशुतोष फिल्म प्रडक्सनको ब्यानरमा निर्माण गरिएको हो । नेपालीहरूको बाक्लो उपस्थिति रहेको बेल्जियममा निर्मित चलचित्रमा नेपाली नायिका पार्वती अधिकारी र नायक ध्रुव दत्तको मुख्य भूमिका छ । अन्य कलाकारहरूमा नायिका वर्षा खड्का र रफी साह, यशु थापा, चिरन खवास छन् ।

बेल्जियम र नेदरल्यान्ड्समा बसोबास गर्ने नेपाली कलाकारहरूले पनि चलचित्रमा विभिन्न भूमिका निभाएका छन् । निर्देशक रफीकै कथा लेखनमा बनेको चलचित्रको छायांकन राजु अधिकारीले गरेका हुन् भने सहायक निर्देशन र छायांकन चिरन खवासले गरेका हुन् ।

विदेशमा बसेर पनि नेपाली कला र संस्कृतिलाई जीवन्त बनाई राख्न आफूहरुले सो क्षेत्रलाई निरन्तरता दिएको सहायक निर्देशक खवासले बताए । खवासले अगाडी भने टिमको व्यस्त समयका बाबजुद चलचित्र बनाइएकोले आफ्नो टिम उत्साहित भएको जानकारी दिदै अर्को चलचित्र निर्माणको सम्पूर्ण तयारी पुरा भएको बताए ।

बेल्जियममा बसोबास गरिरहेका नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरूले आफ्नै लगानीमा उक्त चलचित्रको निर्माण गरेका हुन् ।

टिप्पणीहरू