विभाजित विवेकशीलको एकता यात्रा
विवेकशील साझा पार्टीले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्न लागिएको हो ।
कञ्चनपुरबाट सुरु हुने यात्रा माघ १६ गते झापामा पुगेर अन्त्य हुनेछ । उसले नागरिकका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि विचारभन्दा माथि देश भन्दै यात्रा सुरु गर्न लागिएको बताएको छ । राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्न एकता यात्राको तय गरिएको विवेकशीलको दाबी छ ।
उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउ पुर्याउने उद्देश्यले राष्ट्रिय एकता यात्रा गर्न लागिएको हो ।’
देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको उसको ठहर छ । राजनीतिकर्मीहरूले देशलाई शीरमा नराख्दा सुशासनको अपेक्षा गर्नै नसक्ने स्थितिमा आइपुगेको विवेकशील साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू