आजदेखि रेडक्रसको केन्द्रीय कार्यालय ठप्प
काठमाडौंको सोल्टीमोडमा रहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा धर्ना सुरु भएको छ । कार्यकारी निर्देशक र निर्देशकको पदावधि गैरकानुनी ढंगले थपिएको भन्दै आज बिहानदेखि धर्ना सुरु भएको हो ।
कार्यकारी निर्देशकसहित तदर्थ कार्यसमितिको बैठकले कार्यकारी निर्देशकको तीन तथा निर्देशकको पदावधी पाँच वर्ष कायम गर्ने र उपकार्यकारी निर्देशकमा कनिष्ठ कर्मचारी नियुक्तिको लागि गरेको निर्णयविरुद्ध धर्ना थालिएको बताइएको छ ।
आन्दोलनकारीहरुका अनुसार संस्थाको कर्मचारी सेवा नियमावली विपरीत पदावधी कायम गर्ने र कनिष्ठ कर्मचारी नियुक्त गर्न लागिएकाले विरोधका कार्यक्रम अघि बढाइएको हो ।
सोसाइटीका अध्यक्ष विष्णु तिमिल्सिनाको नेतृत्वमा भएका कर्मचारी नियमावली विपरीतका निर्णयहरु खारेजीको माग गर्दै कर्मचारीले कार्यालयभित्रै धर्ना थालेका हुन् । धर्नाका कारण आन्तरिक कार्य सबै प्रभावित भएका छन् ।
आजबाट थालिएको धर्ना माग पूरा नभएसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म हुने जानकारी दिइएको छ ।
टिप्पणीहरू