आजदेखि इलाममै आँखा जाँच्न थालियो
इलामबासीले आँखा जान अन्त्र जानुपर्ने बाध्यता हटेको छ । पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएसँगै त्यहाँका स्थानीय बासिन्दालाई सहज भएको हो । इलाम सामुदायिक आँखा अस्पतालको आज उद्घाटन भएको छ ।
जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि समेत जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ ।
इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माण सुरु भएको आठ महिनाको अवधिमा सेवा थालिएको हो ।
अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
विनियोजित रकममध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालन खर्च भएको आँखा अस्पतालले जानकारी गराएको छ ।
नगरपालिकाले सिंहबाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि भवन निर्माण गरेको हो । सामुदायिक आँखा अस्पतालका लागि हाल ६ कोठाको एकतले भवन बनाइएको छ ।
आँखा अस्पतालको निम्ति आवश्यक थप भवनको लागि समेत जग्गाको व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।
नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि समेत जारी गरेको छ । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठनको व्यवस्था गरेको छ ।
टिप्पणीहरू