ठेकेदार सांसदले ज्याला नदिँदा कामदार भोकै
राष्ट्रिय राजनीतिबाट सँधै छाँयामा पर्दै आएको सुदूर हिमाली जिल्ला रसुवा पछिल्लो समय चर्चामा छ । जिल्लालाई राष्ट्रियरुपमै चर्चित बनाउने पात्र हुन्, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ । एउटा पार्टीको सांसद अनि अर्को पार्टीको नेताका रुपमा तामाङले अनौठो परिचय बनाएपछि उनीसंगै रसुवा पनि एकाएक चर्चामा आएको हो ।
बागमती प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) को एक मात्र सांसद हुन् तामाङ । गत ०७४ सालको चुनावमा उनले रसुवा ‘ख’ बाट तत्कालीन नयाँ शक्तिको नाममा चुनाव जितेका थिए । प्रदेशसभामा जसपाकै संसदीय दलको नेताका रुपमा उनलाई कुर्सि छुट्टयाइएको छ ।
तर, तामाङको सम्बन्ध र उठबस भने काँग्रेससँग लामो समयदेखि रहँदै आएको थियो । काँग्रेसको १४ औँ महाधिवेशनमा उनै तामाङ प्रतिनिधि बनेर रसुवाबाट काठमाडौँ झरे ।
प्रेम तामाङको अर्को पनि परिचय पनि बनेको छ ‘मजदुरमारा सांसद’ । माओवादी जनयुद्धमा लागेर राजनीतिक हाइट उठाएका तामाङ कुनै बेला मजदुरका पक्षमा चर्का भाषण गर्दै हिँड्थे । तर, अहिले उनी आफैँ मालिक छन्, र उनीमाथि मजदुरमाराको आरोप लागेको छ । तामाङ सञ्चालक रहेको एक निर्माण कम्पनीले लामो समयसम्म मजदुरलाई तलब नदिएपछि उनीमाथि यस्तो आरोप लागेको हो ।
हुन् त, राजनीतिलाई नीतिहरुको पनि ठूलो नीति भनिन्छ । जनताको हित, उन्नति र सुरक्षाका लागि आवश्यक नीति निर्माण गर्नु राजनीतिको मूल उद्देश्य हो । र, राजनीतिमा लाग्नेहरु त्यसैमा केन्द्रित हुन्छन् भन्ने ठानिन्छ । तर, पछिल्लो समय राजनीति र व्यवसाय यसरी मिसमास भएको छ कि को नेता, को ठेकेदार चिन्नै नसकिने अवस्था बनिरहेको छ ।
तामाङ एलआइके जेभी नामक निर्माण कम्पनीका साहु हुन् । उनी सञ्चालक रहेको उक्त कम्पनीमा उनकी श्रीमती व्यवस्थापक छिन् । त्यहि कम्पनीले २०७६ साल जेठमा पुननिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेर रसुवाका पाँच ठाउँमा स्वास्थ्यचौकी भवन निर्माण थालेको थियो ।
तामाङको कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न सकेन । उल्टै काम सम्पन्न भएको महिनौँ बितिसक्दा पनि उसले दिनुपर्ने भुक्तानी नदिँदा मजदुरहरु भोकै पर्ने अवस्था आएको हो ।
एलआइकेले रसुवाको यार्सा, कालिकास्थान, धुन्चे, डाँडागाउँ र गोल्जुङमा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का पाएको थियो । तर, तामाङ आफैँले उक्त निर्माण कार्य थालेनन् । निश्चित प्रतिशत फाइदा राखेर तेस्रोपक्ष (पेटीठेकेदार) लाई कामको जिम्मा दिए ।
एलआइकेका तर्फबाट साइट इञ्चार्ज बनाइएका पेम्बा तामाङका अनुसार यार्सामा शक्ति नेकोर, धुन्चेमा सानुकान्छा, गोल्जुङ्गमा हरि शिवाकोटी, डाँडागाउँमा युवराज सुवेदी र कालिकास्थानमा पूर्णबहादुर थिङले पेटीठेकेदार बनेर काम गरेका हुन् ।
तर, निर्माण सम्पन्न भइसक्दा पनि कुनै पेटीठेकेदारले भुक्तानी नपाउँदा श्रमिकहरुले ज्याला नपाउने अवस्था बनेको उनले बताए । पेम्बाकाअनुसार शक्ति नेकोरलाई १५ लाख, सानुकान्छालाई दुई लाख २० हजार, हरि सिवाकोटीलाई पाँच लाख, युवराज सुवेदीलाई सात लाख ७० हजार र पूर्णबहादुर थिङले २२ लाख रुपैयाँ भुक्तानी पाएका छैनन् । गोल्जुंग साइटमा काम गरेका शितल तामाङले एक लाख ५५ हजार पाउनुपर्ने हिसाब देखाएका छन् ।
प्रेमले भुक्तानी नगरेका कारण पेटीठेकेदारले कामदारलाई ज्याला दिन नसकेको पेम्बाले बताएका छन् । ‘केहिले ऋण गरेर धेरथोर दिएका छन्, सबैले दिन सकेका छैनन्’, उनले भने ।
पेम्बाले सांसद ठेकेदारबाट आफूले मात्रै ७ लाख लिनुपर्ने हिसाब पनि सुनाएका छन् । जनआस्थासँगको कुराकानीमा उनले भने, ’मैले ठ्याक्कै हिसाब त गरेको छैन, तर ६ देखि ७ लाख लिन बाँकी होला ।’ पैसा माग्दा तामाङले त्यसै झुलाइरहेको उनले बताए ।
अति भएपछि आफूले फेसबुकमा लेखेको भन्दै उनले थपे, ’पहिला त दिन्छु दिन्छु भनेर टार्दै आएका थिए, अहिले त किन फेसबुकमा लेखेको भनेर उल्टै गालि गर्न पो थाले ।’
तामाङले काम सकिएपछि पैसा दिन्छु भनेर त्यसै झुलाइरहेको अर्का पेटीठेकेदारले पनि बताए । तर, ०७७ सालको चैतमै काम सम्पन्न भइसके पनि अहिलेसम्म पैसा नपाएको उनको गुनासो छ । फोन गर्दा समेत तामाङले कहिल्यै नउठाएको भन्दै उनले दुःखेसो पोखे ।
यता, पुनर्निर्माण प्राधिकरणले पनि तामाङको कम्पनीले सबै भुक्तानी पाइसकेको बताएको छ । १५ महिने आयोजना २१ महिना लगाएर पूरा गरेको र सबै भुक्तानी लागिसकेको प्राधिकरणका इञ्जिनियर बुद्धबीर लोप्चनले जानकारी दिए ।
उनले पनि मजदुरका गुनासो आफूहरुले सुनेको तर, ठेकेदार कम्पनी नै त्यसमा जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ’मजदुरहरुले ज्याला नपाएको गुनासो मैले पनि सुनेको छु, तर हाम्रो अफिसले केही गर्न मिल्दैन । ठेक्का गरेर काम गर्ने कम्पनी नै जिम्मेवार हुनुपर्छ ।’
तामाङसँग यसबारे कुरा गर्न जनआस्थाले गरेको पटक पटकको प्रयास सफल भएन । मंगलबार १८ पटकसम्म फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
टिप्पणीहरू