‘भर्खरै जन्मेको बाछो’ उफ्रिँदा झापामा खैलाबैला
झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेको जन लहर बढेको छ । दैनिक तीन चार ठाउँमा पार्टीमा नवप्रवेशीलाई प्रवेश गराउने काम नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ‘भर्खरै जन्मिएको बाछो उफ्रिन्छ’ भनेर टिप्पणी गरेका थिए । एमाले अध्यक्ष ओलीले लिङ्देनलाई सार्वजनिक रुपमा व्यंग्य गरे पनि उनै लिङ्देनले उल्लेखनीय संख्यामा ओलीको गृह जिल्लाका झापालीहरुलाई राप्रपामा प्रवेश गराएका छन् ।
शनिबारदेखि झापाका विभिन्न पालिकाका पार्टी कमिटीद्वारा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयहरु राप्रपा प्रवेश गरेको बताइएको छ । बिर्तामोडमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा ३ सय ६३ जना र सोही दिन साँझ बाह्रदशीमा भएको अर्को कार्यक्रममा ८७ जनाले पार्टी प्रवेश गरेको झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिएका छन् ।
यसअघि सोमबार भद्रपुर नगरपालिकाबाट बिकेन्द्र मेयाङ्बोलगायत विभिन्न दलबाट ५ सय २३ जना, कचनकवल गाउँपालिकाबाट ३६ जना र राधानगर र कुटु बस्तीबाट १ सय ३७ जनासमेत गरि ७ सय जना राप्रपा प्रवेश गरेका छन् । एमालेलगायतका दलबाट यसबीचमा झण्डै १३ सय जना आफ्नो दलमा प्रवेश गरेको राप्रपा झापाको दाबी छ ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टी महाधिवेशनमा भनेझैं यो क्रमले निरन्तरता पाउँदा आगामी ६ महिनाभित्रमा राप्रपाले काँचुली फेर्ने भन्न थालिएको छ । उनले त्यतिबेला भनेका थिए, ‘म पनि काम गर्छु तपाईंहरूले पनि काम गर्नुपर्छ, काम नगरी बस्ने छुट कसैलाई छैन ।’
टिप्पणीहरू