सम्मेलन हाेइन, महाधिवेशन : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)ले भोलिदेखि शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।
आज साँझ पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनका रुपमा सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ ।
राष्ट्रिय सम्मेलनप्रति आमरुपमा आकर्षण बढेको र महाधिवेशनकै प्रक्रिया अपनाइएकाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । ‘आखिर तलैदेखि सबै प्रक्रिया महाधिवेशनकै अपनाएकाले महाधिवेशन किन नभन्ने भन्ने कुरा भयो । अर्को चैं माओवादीले किन महाधिवेशन गरेन भन्ने आम चासो र आकर्षण पनि देखिएकाले यस्तो निर्णयमा पुगिएको हो ।’
तर, माओवादीले प्रचार सामाग्रीहरुमा भने ‘राष्ट्रिय सम्मेलन’ भनेर लेखिसकेको छ । मुख्य ब्यानर र कार्डहरुमा अब महाधिवेशन लेखिने तर, टाङ्गिसकेका तुल, ब्यानरहरु नहटाईने पोखरेलले जानकारी दिनुभयो ।
टिप्पणीहरू