संसद मार्ने ओली, बचाउने हामी अनि नाराबाजी गर्ने फेरि ओली नै ?

संसद मार्ने ओली, बचाउने हामी अनि नाराबाजी गर्ने फेरि ओली नै ?

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संसदमा एमालेले गरिरहेको क्रियाकलापको चर्को आलोचना गर्नु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित पार्टीको वडा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले संसद विघटन गरेर अन्यौलतातिर धकेल्ने केपी शर्मा ओली संसदमा उपस्थित नहुनुपर्नेमा संसदमा नाराबाजी गराएर लाजमाथि पनि राजनीति गरेको आरोप लगाउनु भएको हो ।

‘उहाँले संसद मार्नुभयो, हामीहरुले संसद बचायौँ । दुई पटक मारिएको संसद बचाएर हामीले जीवित पारेपछि उहाँ संसदमा ससुराली गएको ज्वाईं स्टाइलमा आउनु भयो’, नेता खतिवडाले भन्नुभयो, ‘लाज पचेको मान्छेको त्यतिसम्म त सहेरै बसियो, अहिले त नाराबाजी गरेर अवरुद्ध पो गर्न थाले ।’

लाज, घीन पचेपछि मान्छे जे गर्न पनि तयार रहेको उदाहरण ओलीले प्रस्तुत गरेको उहाँको भनाइ थियो । संसद मार्नेहरुले संसद जोगाउने विरोध खतिवडासहित १४ जनालाई सांसद पदबाट निकाल्नुपर्ने माग गरेका रहेछन्,’ उहाँले भन्नुभयो, ‘धन्न हामीले संसद जोगाइदिएका थियौँ र ओलीहरुले नाराबाजी गर्न पाइरहेका छन् ।’

स्वास्थ्य मन्त्रालयले निस्फिक्री रुपमा कोरोनाविरुद्धको खोपको व्यवस्था गरिरहेको भन्दै मन्त्री खतिवडाले छिट्टै नै बुस्टर डोजको व्यवस्था हुने जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रियस्तरमा बालबालिकाका लागि खोप आविष्कार भएर प्रयोगमा ल्याउने बित्तिकै नेपालले पनि साना बालबालिकाहरुका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशसभामा प्रमुख सचेतक मुनु सिग्देलले स्वेच्छाचारी प्रवृत्तिविरुद्ध कम्युनिष्ट पार्टीहरुको एकता र अभियानलाई अझ सुदृढ बनाउन पार्टी पुनर्गठन गरिएको बताउनुभयो । जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिवालय सदस्यहरु रामकुमार एलन, मनिला बिष्ट, वीरेन्द्र डिसी, भूमिनन्द अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा र माओवादीसमेत परित्याग गरी ३० जनाभन्दा बढी अन्य दलका कार्यकर्ता समाजवादी पार्टीमा समाहित भएका छन् ।

टिप्पणीहरू