स्थानीयले भटाभट गाउँ छाड्न थाले
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा हिमपात शुरु भएसँगै आधाभन्दा बढी घर परिवारले गाउँ छाडेका छन् । ३७ घर परिवार रहेको घुन्सामा अहिले २५ घर परिवारले जाडो छल्न गाउँ छाडेका हुन् ।
घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एउटा पर्यटकीय बस्ती हो । शेर्पा समुदायको बसोबास रहेको घुन्सामा प्रत्येक वर्ष पुस, माघ र फागुन तीन महिना धेरै हिउँ पर्ने गर्दछ ।
तीन महिना हिउँ र अत्यधिक चिसोका कारण निकै कष्टकर समय बिताउनुपर्ने भएकाले आफूहरूले प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको स्थानीय टासी तेन्जिङले जानकारी दिए । हिउँ र जाडो छल्न पेमा शेर्पा अस्ति घुन्सा गाउँ छाडेर तीन महिनाका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङतर्फ हिँडेका छन् ।
पेमा मात्र होइन, घुन्साका २५ घर परिवार नै फुङलिङ हुँदै अन्य ठाउँमा जाडो छल्न गएका छन् । सबैभन्दा धेरै काठमाडौं जाने गरको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए ।
सात घर परिवार जाडो छल्न काठमाडौँ पुगेका छन् । चार परिवार फुङलिङ बजारमा कोठा लिए बसेका छन् । एउटा परिवार इलामको पशुपतिबजार पुगेको छ ।
घुन्सामा ३७ परिवार स्थायी रूपमा बासोबास गर्दै आएको स्थानीय पेमा शेर्पाले बताए । अहिले १२ परिवार मात्र गाउँमा रहेको छ ।
टिप्पणीहरू