जुत्ता सिएर अरुलाई हिँडाउनेहरु आफैं सडकछाप
पच्चु राम ५५ बर्षका भए । १० बर्षको उमेरदेखि सडकमा बसेर जुत्ताचप्पल मरम्मत गर्न थालेका उनी अझै विराटनगर ट्राफिक चौकको सडकपेटीमा भेटिन्छन् । जुत्ता चप्पल सिलाएको ४५ बर्ष बितिसक्दा पनि अझै एक धुर माटो जोडेर आफनो घर बनाउन सकेका छैनन् ।
विराटनगरका राधे रामले जुत्ताचप्पल सिलाउन थालेको ३८ बर्ष भयो । घर नभएकोले भाडामा बस्न बाध्य छन् उनी । लकडाउनका बेला कैयौं रात उनी र परिवार भोकभोकै परेका थिए । विराटनगर महानगरपालिकाभित्र सडकमा बसेर जुत्ताचप्पल सिलाउने मोचीहरू दुई सयभन्दा बढि छन् । मोची कुमुद रामले बिद्यालयमा छोराछोरीलाई छात्रबृत्तिबाहेक अरु कुनै सेवा सुविधा नपाएको बताए ।
पच्चिस बर्षदेखि जुत्ताचप्पल सिलाउ“दै आएका पिन्टु मोची व्यवसाय स्तरोन्नति गर्न सरकारले अनुदान दिनुपर्ने बताउँछन् । भन्छन्, ‘हामीलाई सरकारले दिएको राहत भनेको लकडाउनको बेला अतिकति रासन मात्र हो त्योबाहेक जीवनमा आजसम्म केही पाएका छैनौं । ४० बर्षदेखि जुत्ताचप्पल सिलाएर परिवार धान्दै आएका मोचि पच्चु रामचाहिँ नयाँ पुस्तालाई सरकारले जुत्ताचप्पल निर्माण सम्बन्धी तालिम रोजगार दिनुपर्छ भन्छन् ।
हक अधिकारका कुरा त परै जाहोस् महानगरपालिकाले पाँच बर्षसम्मका दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक ५ सय रुपैयाँ पोषण भत्ताबारे पनि थाहा छैन उनीहरूलाई । विराटनगरमा ९ कक्षा भन्दा बढि पढेका मोचीहरू कोही छैनन् । मोचीहरूले छोराछोरीलाई सरकारी स्कुल पढाए पनि गरीबीले गर्दा मावि तहमा नपुग्दै छाड्न बाध्य हुन्छन् ।
सडकमा जुत्ताचप्पल सिलाउने विराटनगरका मोचीहरूको अबस्था अध्यन गरेर उनीहरूको हक अधिकारबारे आवाज उठाउन आजसम्म कसैले चासो दिएका छैनन । जनशक्त्ति तथा सामुदायिक विकास केन्द्र विराटनगरका अध्यक्ष डिकप्रसाद घिमिरे श्रमजिवी मोचीरुको जिवन सधै सडकछाप बन्न नदिन महानगरपालिका, प्रदेश र संघीय सरकारले बिशेष योजना ल्याउनुपर्नेमा जोड दिन्छन् ।
– पूजा लम्साल
टिप्पणीहरू