क्रिप्टोकरेन्सीको धन्दा चलाउने गिरोह समातियो
नेपालको कानुनले अवैध मानेको क्रिप्टोकरेन्सीको धन्दा चलाउने एउटा गिरोह समातिएको छ । प्रहरीले आज मिनभवनबाट कारोबारमा संलग्न तीन जनालाई समातेको हो ।
पक्राउ पर्नेहरुमा पर्वतको फलेबास नगरपालिका-११ का २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय बिशाल श्रेष्ठ र काठमाडौँ थापाथलीका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । उनीहरुले हालसम्म ९७५ जनासंग १९ सय २६ पटक कारोबार गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका भट्टराईले मात्रै मङ्सिर र पुस महिनामा २६ लाखको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरु दुई जना कारोबार संलग्न रहेको देखिए पनि उनीहरुको कारोबारबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।
बिटक्वाइनको वित्तीय कारोबारबाट सर्वसाधारण ठगिएको व्यापक गुनासो बढेपछि महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई आज दिउँसो मिनभवनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी एन २०७३ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
क्रिप्टोकरेन्सी एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । यसको कारोबार केही देशमा खुला भए पनि विश्वका धेरैजसो देशमा प्रतिबन्धित छ । नेपालमा पनि यसको कारोबारलाई गैरकानुनी मानिन्छ ।
तर, लुकिछिपी यसको धन्दा मौलाइरहेको छ । यसअघि पनि क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दर्जनौँलाई पक्राउ गरेको थियो ।
टिप्पणीहरू