मारिनुअघि बेवास्ता, मारिएपछि छानबिन
सडक छेउको नालीमा खसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत) लाई जिम्मेवारी तोकेको छ । गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिकैको सडक छेउको खाल्डोमा फसेर हिजो एउटा भाले गैंडा मरेको थियो । गैंडा मरेको स्थान निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले नाली निर्माणमा सडक डिभिजनको लापरबाही देखिएको आचार्यको दाबी छ ।
मध्यवर्ती क्षेत्रमा कंक्रिटको नाली बनाउन निकुञ्जको स्वीकृति नलिइएको उहाँको भनाइ छ । ‘सडकले अनुमति नलिई काम गर्यो । ठेकेदारले काम गर्दा विचार पुर्याएन, लापरबाही ग¥यो’, उनले भने, ‘मध्यवर्तीमा काम गर्दा निकुञ्जको अनुमति वा स्वीकृति लिनुपर्ने थियो, त्यो देखिएन ।
लापरबाही गर्नेलाई मुद्दा चलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्ने आचार्यको भनाइ छ । ‘अहिले हामीले अनुसन्धान गर्छा, मुद्दा चल्ने–नचल्ने भन्ने विषयमा चाहिँ सरकारी वकिलले निर्णय गर्नुहुन्छ ।’
लापरबाहीकै कारण गैंडाको मृत्यु भएको भन्दै लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने संरक्षणकर्मीहरूले बताएका छन् । तर निकुञ्जभित्र भइरहेको सडक बिस्तार र सोसँग सम्बन्धित कार्यमा निकुञ्जका अधिकारी तथा कर्मचारीले यसअघि चासो नदिएको देखिएको छ ।
उनीहरुले वन्यजन्तुको निम्ति अपनाउनुपर्ने सावधानी बारे निर्माण कम्पनी र कामदारलाई बेलैमा सजग नगराएको समेत देखिन आएको हो । सन् २०२१ को गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिंगै गैंडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा छन् । चालु आर्थिक वर्षको हिजोसम्म २२ वटा गैंडाको मृत्यु भइसकेको छ ।
टिप्पणीहरू