धादिङको आलुमा डढुवाको प्रकोप
धादिङका किसानहरुले लगाएको हिउँदे आलुखेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएको छ । केही दिनअघि परेको आकाशे पानी र त्यसपछिको तुषारोले आलुखेतीमा डढुवाको प्रकोप फैलिएको हो ।
मौसम परिवर्तनका कारण आलुको पात र डाँठ नै सुक्न थालेको किसानहरुले बताएका छन् । चिसो मौसम शुरु भएपछि किसानले आलुखेतीमा ध्यान नदिँदा कतिपय लगाइएको आलुखेती नष्ट भएको छ । प्रायः सबै किसानले लगाएको आलुखेतीमा डढुवाको संक्रमण भने फैलिएको छ ।
मंसिरमा धान काटेपछि लगाइएको आलुमा माघ पहिलो सातादेखि नै डढुवा लागेर सखाप भएपछि किसानले आलु मासेर अन्य खेतीसमेत गरेका छन् । किसानमा प्राविधिक ज्ञानको कमीले पनि आलुखेतीमा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र, धादिङका बाली संरक्षण अधिकृत जयराम अधिकारीले बताए ।
वर्षात् हुने, राम्रो घाम नलागेर शीत नओभाउने ठाउँमा रोग बढि फैलिएको पनि अधिकारीको भनाइ छ । खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्ने केही किसानका आलुखेतीमा भने खासै समस्या नदेखिएको बाली संरक्षण अधिकृत अधिकारीले बताए ।
धादिङका अधिकांश किसानले एक सयदेखि एक हजार किलो आलुको बीऊ लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा व्यावसायिक रुपमा १७ सय ६५ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । ७ सय ७८ हेक्टरमा हिउँदे आलु उत्पादन हुने गरेको छ ।
डढुवा रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल हुँदै गएको छ । यो रोग आलुमा लाग्नेमध्येको प्रमुख रोग हो । अधिकृत अधिकारी भन्छन्, ‘यसको लक्षण संक्रमण सुरुको अवस्थामा पातमा हलुका हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन् । रोग बढी हुँदै गएपछि पूरै पात सुकेर डढे जस्तो हुन्छ ।’
अनुकूल वातावरण भएमा भने पात, काण्ड, डाँठ र दानामा समेत संक्रमण हुने अधिकारीले बताए ।
धादिङको उत्तरी भेगका किसानले बर्खे आलु बढी लगाउँछन् भने तल्लो भेगका किसानले हिउँदे आलु लगाउँछन् । जिल्लाको नीलकण्ठ, बेनिघाट, धुनिबेसी, गजुरी, ज्वालामुखी, नेत्रावतीलगायतमा बढी आलु लगाइन्छ । उत्तरी भेग झार्लाङको आलु धादिङ, नुवाकोट, रसुवा र काठमाडौंमा समेत प्रख्यात छ ।
टिप्पणीहरू