घर गए एउटा जर्नेल कार्की, अर्को आए फर्किफर्की
नेपालमा गणतन्त्र आएको झण्डै १५ वर्ष बितिसक्यो, तर नेपाली सेनामा भने अझै पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा संरक्षितहरुको दबदबा उस्तै छ । राजतन्त्रकालमा राजा सेनाको परमाधिपति हुने हुँदा दरबारले रुचाएका सैनिक अधिकृतले मज्जैको तरक्की गर्थे । गणतन्त्र आएको डेढ दशक बितिसक्दा पनि हिजोको त्यहि ह्याङ्गओभर बाँकी रहेका कारण सेनामा यो या त्यो रुपमा दरबारको प्रभाव कायमै रहेको मानिन्छ ।
पछिल्लो समय निवर्तमान सेनापति पूर्णचन्द्र थापाको आडमा हालका सेनापति प्रभुराम शर्मासँगको अनुशासनहीन टसलले अनन्त कार्की दुईतारे जर्नेलबाट म्यादै नथपिई आइतबार घर फर्किएपछि भावी नेतृत्वको लाइनमा रहेकाहरुको चर्चा शुरु भएको छ ।
त्यसमध्येका हुन् तत्कालीन पूर्वराजा ज्ञानेन्द्रका एडिसी मधुकर कार्की । ज्ञानेन्द्रको संरक्षण पाएकै कारण फटाफट माथि तानिएका मधुकरलाई ६ वर्षपछिको सेनापतिका रुपमा अहिलेदेखि नै चर्चामा ल्याइएको छ भने अर्का एकतारे अनुपजङ्ग थापा पनि उनलाई खुस्काएर आफू माथि जान खोजिरहेको सुनिन्छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको काण्डमा मुछिएका मधुकर दरबार हत्याकाण्डका बेला तत्कालीन राजा वीरेन्द्रका कान्छा छोरा निराजनको एडिसी थिए । जेठ १९ गते हत्याकाण्डको रात दरबारमा नरहेका थुप्रै सैनिक अफिसरहरु कारवाहीमा परेपनि कार्की भने त्यहीं हुँदाहुँदै ज्ञानेन्द्रसँगको व्यावसायिक सम्बन्धका कारण जोगिए ।
दरबार हत्याकाण्डका बेला घाइते राजा वीरेन्द्रलाई बोकेर छाउनी अस्पताल पु¥याउने भक्तपुर सिपाडोलका सोझा मगर एडीसी सुन्दरप्रताप राना त फालिए नै छुट्टीमा रहेका युवराज दीपेन्द्रका एडिसी मेजरहरु गजेन्द्र बोहोरा र राजु कार्कीलगायतलाई पनि सेवाबाट बर्खास्त गरिएको थियो । तर, हत्याकाण्डको रात दरबारमै भएर पनि निराजनलाई बचाउन नसकेका कार्कीमाथि असक्षमताको आरोप लागे पनि कुनै कारवाही भएन । बरु उल्टै ज्ञानेन्द्रले आफ्नो एडिसी बनाएर पुरस्कृत गरिदिए । कार्की त्यसरी पुरस्कृत हुनुमा ज्ञानेन्द्र र उनका बाबुबीचको व्यावसायिक सम्बन्ध नै मुख्य कारण रहेको बताइन्छ ।
त्यसो त दरवार हत्याकाण्ड हुँदा राजपरिवारको सेवामा खटिएर पनि जागिर नजानेमा बिनोज बस्न्यात, रतिन्द्र खत्री, राजाराम बस्नेत र प्रविण खड्कासमेत थिए ।
तत्कालीन मेजर मधुकर कार्कीका बाबु सडक विभागको पूर्वडिजी हुन्, ज्ञानेन्द्रको बिजनेश पार्टनर पनि । जानकारहरुका अनुसार त्यहि सम्बन्धले कार्कीलाई ज्ञानेन्द्रको एडिसी बन्न सघाउ पु¥याएको हो । त्यसयता मुलुकमा राजनीतिक परिवर्तन भए पनि कार्कीको तरक्की उस्तै छ, कहिले बेलायत त कहिले अमेरिका तालिम–यसरी उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।
रमाइलो कुरा चैं के भने पूर्वराजा र दरबारबाट संरक्षित भनिएका कार्कीलाई राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पत्नी आरजू राणा र सरकारका प्रवक्तासम्मले ‘ग्रिन सिग्नल’ दिइसकेको चर्चा पनि छ । भोजपुरे जर्नेल कार्की सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका दाजुभाइ खलक हुन् । राष्ट्रपति विद्या भण्डारीसँग पनि नजिकको नातासम्बन्ध रहेको बताइन्छ ।
पूर्वराजादेखि राष्ट्रपतिसम्म प्रभावशाली व्यक्तिगत सम्बन्ध भएकै कारण कार्कीलाई अहिले भावी प्रधानसेनापतिको चर्चामा ल्याइएको गाँईगुइँ जंगीअड्डातिर सुन्न थालिएको छ । तर, उनको सेनापति बन्ने योजनामा सर्टिफिकेट किर्तेको आरोप भने बाधक बन्न सक्ने देखिन्छ । कार्कीले अनलाइन सर्टिफिकेट देखाएर तालिम लिएका थिए । यस्तै विवादको कारण नयनराज दाहाल, सञ्जयसिंह भण्डारी, शैलेन्द्र सिंह थापा दुईतारे नभई घर फर्किएको नजिर हेर्ने हो भने कार्कीलाई चिफ बन्न त्यति सहज छैन ।
तर, गौरव समशेरको स्टाफ र साइकल यात्री भएर काम गरेका बेला कार्कीले त्यहि शक्तिको आडमा सर्टिफिकेट परिवर्तन गरिसकेका छन् । खासमा उनी पहिले अनलाइनबाट माथि उक्लिए । यस्तो सर्टिफिकेटले विवादमा तान्ने बुझेपछि नर्मल जाँचबाट ब्याचलर पास गरेका हुन् । बताइएअनुसार जतिबेला कार्कीले अनलाइनबाट सर्टिफिकेट लिए, त्यतिबेला त्यससम्बन्धी नियम नै थिएन । तर, त्यही सर्टिफिकेट देखाएर तालिम पूरा गरी जर्नेल बने । उक्त सर्टिफिकेट काम नलाग्ने अवस्था भएपछि नियमित परीक्षाबाट पुरानोलाई विस्थापित गरेका हुन् ।
कार्कीको सर्टिफिकेट विवाद छत्रमानसिंह गुरुङ चिफ भएका बेला बाहिर आएको थियो । गुरुङसँग उनको त्यति राम्रो थिएन । पछि गौरव समशेर सेनापति भएका बेला उनलाई एक्कासी महासेनानी बनाइएको हो ।
महासेनानीबाट सहायक रथी हुनको लागि हायर कमाण्ड कोर्ष अनिवार्य र स्नातक हुनुपर्ने नियम २०६९ सालबाट लागु भएपछि फेबु्रअरी २०१६ मा बल्ल निजले तालिम लिएका हुन्, नियम लागू भएको ६ महिनापछि सैनिक एकेडेमी खरीपाटीबाट स्नातक गरेर प्रमाणपत्र बदली गर्ने हेर्दाका सोझा र भलाद्मी कार्कीहरुकै फलिफाप हुँदै गयो भने सरोजप्रताप राणा र प्रेम शाहीहरुले मज्जा नमाने कसले मान्ने ?
टिप्पणीहरू