शुक्रवार चीनमा विश्वका ३२ जना नेता पुग्ने

शुक्रवार चीनमा विश्वका ३२ जना नेता पुग्ने

चीनको राजधानी बेइजिङमा आगामी शुक्रबारदेखि हिउँदे ओलम्पिक शुरु हुँदैछ । २४ औं हिउँदे ओलम्पिकपछि बेइजिङ ग्रीष्मकालीन र हिउँदे ओलम्पिक आयोजना गर्ने पहिलो शहर बन्दैछ । बेइजिङले सन् २००८ को ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेको थियो ।

यस पटकको हिउँदे ओलम्पिक अमेरिकाले बहिष्कार गर्ने भन्दै आएको छ । तर, चीनले खासै प्रतिक्रिया नजनाए पनि बेइजिङ हिउँदे ओलम्पिक बहिष्कार गर्ने अमेरिकी धारणाको रुसले भने कडा शब्दमा भर्त्सना गरिसकेको छ ।

चीन र रुसले निकै महत्व दिएको बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा आजसम्म युरोपका छ मुलुक,मध्ये एसियाका पाँच,मध्यपूर्वका तीन,दक्षिण अमेरिकाका दुई र बाँकी १६ देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरु हुनेछन् । तिनमा एसिया, प्रशान्त र अफ्रिकी मुलुकका प्रमुखहरु हुन् ।चीनको परराष्ट्र मन्त्रालयले ३२ जना शीर्ष नेताहरुको फोटो सार्वजनिक गरिसकेको छ । ओलम्पिक समापनसम्ममा अरु देशका प्रमुखको नामसमेत थपिन सक्ने सम्भावना छ ।

चीनले सार्वजनिक गरेका नामहरुमा सबैभन्दा पहिलो नम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छन् । त्यसैगरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बच,राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस, विश्व स्वास्थ्य संगठनका प्रबन्ध निर्देशक टेड्रोस एधानोम गबे्रयुससलगायत छन् ।

दक्षिण एसियाली मुलुकहरुमध्ये पाकिस्तानी प्रधानमन्त्री इमरान खानको नाम पनि बेइजिङमा उपस्थित हुने ३२ जना सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुको नामसँगै प्रकाशित छ ।

गत जुलाईमा जापानको राजधानी टोक्योमा भएको ग्रीष्मकालीन ओलम्पिकमा विश्वका ३० भन्दा कम देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख एवम् विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुखको उपस्थिति थियो ।

टिप्पणीहरू