कतारका नेपालीलाई दोहाबाटै ई–पासपोर्ट

कतारका नेपालीलाई दोहाबाटै ई–पासपोर्ट

कतारमा रहेका नेपालील राजधानी दोहास्थित नेपाली दूतावासबाटै ई–पासपोर्ट पाउने भएका छन् । हिजो यसको सफल परीक्षण गरिएको हो ।

विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिएको यो नै पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ । सफल परीक्षणसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ ।

‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य खाडी मुलुक र मलेसियामा रहेका नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको पनि विभागले जानकारी दिएको छ ।

ती उपकरणहरु जडान हुनासाथ सम्बन्धित दूतावासबाट केही दिनभित्रै ई–पासपोर्टको सेवा शुरु गरिनेछ । विभागका अनुसार विश्वका अन्य मुलुकमा रहेका नेपाली नियोगहरुमा पनि त्यस्ता उपकरणहरू पठाउने कार्य भइरहेको छ ।

नेपाल भित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।

अन्य जिल्लामा तीन वटा प्राविधिक टोलीले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ ।

टिप्पणीहरू