सक्कली भन्दै नक्कली सामान भिडाउने व्यापारीको बिगबिगी
बर्दियाका विद्यालयहरुलाई नक्कली सामान बेच्ने एक व्यापारी प्रहरीको फन्दामा परेका छन् । महँगो मूल्यमा कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्री बिक्री गर्ने पोखरा महानगरपालिका–२५ का ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई हिजो प्रहरीले समातेको हो ।
गुलरिया नगरपालिका–६ स्थित बंगलामुखी विद्यालय परिसरमा सामान बेच्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै नक्कली सामान बेच्ने गरेको सूचना पाएपछि खोजीमा निस्किएको प्रहरी टोलीले विद्यालय परिसरबाटै समातेको हो ।
उनले साइबर एण्ड लाइब्रेरी नामक कम्पनीको नाममा प्रविधिबारै कुनै जानकारी नभएका विद्यालय तथा संघ संस्थालाई भ्रममा पार्दै त्यस्ता सामाग्री महँगोमा बेच्ने गरेको गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
क्षेत्रीको साथबाट एक लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका तीन थान चेक, साइबर एन्ड लाइब्रेरीको नाममा रहेको चार थान बील, प्रिन्टर १९ थान र मनिटर १९ थान प्रहरीले बरामद गरेको छ । त्यस्तै, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राइभ १७ थान, क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सिसिटिभी १८ थान, किबोर्ड १९ थान बरामद गरिएको जनाइएको छ ।
उनको साथबाट नेपाली बृहत् शब्दकोष सात थान, अक्सफोर्ड किताबलगायतका विभिन्न शब्दकोष ३० थान, विभिन्न पुस्तक र क्यालेण्डर भएको कार्टुन २९ थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू