प्रहरीमा प्राङ्क सम्बन्धी तीन घटना, दुई जनामाथि कारवाही

प्रहरीमा प्राङ्क सम्बन्धी तीन घटना, दुई जनामाथि कारवाही

चालू आर्थिक वर्षको हालसम्म नेपाल प्रहरीमा प्राङ्क सम्बन्धी तीन घटना दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार प्राङ्कका प्रकारहरु जस्तै मजाक, ख्यालठट्टा, मस्करी, शारीरिक तथा मानसिक रुपमा सास्ती, हैरानी पार्ने र दिक्क बनाउने तीन घटना दर्ता भएका हुन् ।

प्रहरीको तथ्याङ्मा चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म टिकटकबाट दुई र युट्युब मार्फत् एक गरि तीन घटना भएको बताइएको छ । जसमा दुई जनामाथि मुद्दा दर्ता भइ कारवाही भएको र एउटा माथि मुद्दा दर्ता नभएको उल्लेख छ ।

मुद्दा दर्ता भएका दुबैजना टिकटक प्रयोगकर्ता हुन् । उनीहरुमाथि प्रहरीले गाली बेइज्जती, हैरानी तथा मस्करी शारीरिक सास्ती सम्बन्धी मुद्दा दर्ता गरि कारवाही गरेको जनाएको हो । कारवाहीमा पर्नेमा बाराका एक र दार्चुलाका एक जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

बाराका टिकटक प्रयोगकर्तालाई चरित्रहत्या गर्ने र पिडीतका बारेमा समाजमा घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गरि कारवाही गरेको थियो ।

उनीमाथि जिल्ला प्रशासन कार्यालय बाराको पुस २ गतेको आदेशले तीन हजार धरौटी तोकेको थियो । उनले उक्त धरौटी वापतको रकम बुझाएर छुटेको उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, दार्चुलाका टिकटक प्रयोगकर्तालाई मस्करी शारीरिक सास्ती मुद्दामा प्रहरीले कारवाही गरेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कमा जाहेरी दिने व्यक्तिका भतिजालाई तीन जना मिलेर हातपात गरेको र सोक्रममा भतिजोको साथमा रहेको रेडमी नोड ९ प्रोम्याक्स समेत हराएको उल्लेख गरिएको छ ।

तथ्याङ्मा उल्लेख भएअनुसार पीडकलाई अभद्र व्यवहार गर्न नहुने मुद्दा दर्ता गराई कानुनी कारवाही गरेको उल्लेख गरिएको छ । प्रहरीले पीडित र पिडक दुबैको नाम समेत खुलाएको छैन ।

यता, झापामा सामाजिक सञ्जाल युट्युबमार्फत हैरानी गरेको भन्दै असोज ६ गते प्रहरीले घटना विवरण बताएको छ । मुद्दा दर्ता नभएको उक्त घटनामा श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिएको र सम्बन्धविच्छेदको मुद्दा दायर भएकोमा श्रीमतीलाई उक्साएर पीडितलाई धम्काउने र लछार पछार गरि विचाराधीन मुद्दालाई समेत प्रभाव पार्ने काम गरेको उल्लेख छ ।

टिप्पणीहरू