चक्कु र बञ्चरो प्रहार गर्ने खत्री समातिए
घरेलु हतियार प्रयोग गरी साथीलाई घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २५ ठाडो भर्याङस्थित ग्रील कारखानामा कार्यरत नुवाकोटको विदुर नगरपालिका १ का २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरेका उनका साथीलाई प्रहरीले समातेको हो ।
पक्राउ पर्ने सोही ग्रीलमा कार्यरत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ का ४८ वर्षीय मिलन खत्री हुन् । खत्रीलाई हिजो राति प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा विकासले जथाभावी गाली गर्दै अश्लिल शब्द बोलेको भन्दै मिलनले चक्कु र बञ्चरोले गर्धन र टाउकोमा प्रहार गरेका थिए ।
मिलनको आक्रमणबाट गम्भीर घाइते विकासको मनमोहन मेमोरियल अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ । मिलनमाथि ज्यान मार्ने उद्योग कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
टिप्पणीहरू