भारतीय सहयोगमा भाँडभैलो

भारतीय सहयोगमा भाँडभैलो

महाभारत, गल्टार जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) धुलिखेलले महाभारत गाउँपालिकालाई माघ ३ गते एउटा पत्र पठायो भारतीय दूतावासको सहयोगमा निर्माण हुने बनखुचौर स्वास्थ्य चौकीको नाममा रहेको ४ रोपनी जग्गामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गर्न सहज वातावरण निर्माणका लागि अनुरोध गर्दै । कित्ता नम्बर ५६८ को बनखुचौर स्वास्थ्य चौकीका नाममा रहेको जग्गाको प्रमाणपत्र र ०७८ वैशाख २५ गते बसेको स्थानीय बैठकले सोही कित्तासँगैको थप ३ रोपनी जमिन पास गरिदिने सहमतिका आधारमा ठेक्का लगाइएको थियो ।

उक्त सहमतिका आधारमा ठेक्कासमेत निकालेकाले भवन निर्माण तत्काल अघि बढाउने वातावरण बनाइदिन आयोजना प्रमुख सन्तोषकुमार निरौलाले गाउँपालिकालाई पत्र पठाएका हुन् । स्वास्थ्य चौकीलाई स्तरोन्नत गरी प्रसूति सेवा केन्द्रसमेतलाई थप व्यवस्थित गर्ने पटक पटकको निर्णय जनप्रतिनिधि निर्वाचित भएलगत्तै अस्वीकार गरिएको खुलासा भएको छ ।

‘०७२ सालसम्म सञ्चालित स्वास्थ्य चौकीको संरचनालाई भूकम्पले क्षति पु¥याएको थियो’–तत्कालीन गाविस अध्यक्ष सुरथ सिं लामाले भन्नुभयो, ‘ध्वस्त संरचना पुनर्निर्माणका लागि नेपाल सरकार, युनिसेफ तथा अन्य दातृ निकायसँग माग ग¥यौं तैपनि गल्टारवासीको सपना अधुरै रह्यो ।’ ०७२ साल पुस २८ गते तत्कालीन स्वास्थ्य चौकी प्रमुख मनेन्द्रकुमार साहले गाउँ विकास समितिका सचिव शम्भु सापकोटाको अध्यक्षतामा भवन निर्माण, खाता सञ्चालन, अनमी नियुक्ति अनुमोदन गर्न, गाउँ परिषदमा बजेट माग र सामुदायिक स्वास्थ्य इकाइबारे निर्णय गराउनुभएको थियो ।

उक्त स्वास्थ्य चौकीका नाममा गल्टारमा कित्ता नम्बर ५६८ को ४ रोपनी जमिन ०७२ पुस १४ गते पास पनि भयो । स्थानीय तहको निर्वाचनअगावै बनखु गाविस हालको महाभारत गाउँपालिका वडा नम्बर ६ र ७ मा विभाजन भयो । १ देखि ६ सम्म वडा नम्बर ६ र ७–९ वडा नम्बर ७ मा परिणत भए । गल्टारस्थित स्वास्थ्य चौकी वडाको बीच भागमा राख्ने हो भने सल्लेनीमा पर्छ ।

विद्यमान कानुनअनुसार स्वास्थ्य संस्थाहरूको स्थानान्तरण सार्वजनिक सुनुवाइ, टोल भेला, वडा कार्यालय हुँदा गाउँ सभा हुँदै प्रदेश वा संघ सरकारको सबै निर्णयपछि मात्रै हुने व्यवस्था छ । ६ का अध्यक्ष रमेशकुमार लुंगेलीले बनखुको गल्टारमै स्वास्थ्य चौकीलाई अस्पताल बनाउने गरी थप ३ रोपनी जमिन स्थानीयसँग लिने निर्णय गर्नुभयो र कानुन र स्थानीयको सहमतिविपरीत आफ्नै घरपायक मगर गाउँमा स्थानान्तरण गराउनुभयो । जहाँ स्वास्थ्य चौकीका लागि प्रिफ्याव भवन निर्माण भइसकेको छ ।

एउटा गाविस दुईवटा वडामा विभाजन भएलगत्तै आहाले बाँसपुरमा वडा नम्बर ७ का लागि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । मगर गाउँमा लुंगेलीले ३६ लाख रूपैयाँको भवन पनि निर्माण गरिसक्नुभएको छ । उक्त भवन पनि गल्टारमै बनाउने निर्णय भएको हो । एकै स्थानमा दुईवटा भवन भइसकेपछि पनि तेस्रो भवनका लागि लुंगेलीले निर्माण ब्यवसायी र प्राविधिकलाई दबाब दिनुभएको छ ।

‘एकै स्थानमा एउटै प्रयोजनका लागि तीन वटा भवन आवश्यक छैन, पाँच शैयाको भवन निर्माणका लागि मगर गाउँमा जग्गा पनि उपयुक्त छैन’– जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) काभ्रेका प्राविधिक प्रज्वल बस्नेतले भन्नुभयो, ‘गल्टारस्थित स्वास्थ्य चौकीको जमिनको लालपुर्जा राखेर गरिएको बोलपत्र सम्झौताअनुसार ले–आउट गर्न जाँदा वडाध्यक्ष लुंगेलीले मगर गाउँमै निर्माण गर्न दबाब दिनुभयो ।’ उक्त भवनको बजेट १४ करोड ८२ लाख ३७ हजार छ । मगरगाउँमा बन्ने भवन र वडाध्यक्ष लुंगेलीको घर २ सय मीटरको दूरीमा छ ।

स्थानीयले वडासदस्य शुभद्रा माझीको उपस्थितिमा भूकम्प पुनर्निर्माण प्राधिकरण कार्यालय (भवन), महाभारत गाउँपालिका र वडा कार्यालयमा ५० जनाको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउँदै जहाँ निर्णय, त्यहीँ भवन निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । ०७८ असारमा सम्झौता भएको भवन ६ महिना बितिसक्दासमेत निर्माण हुन सकेको छैन ।

बनखुसहित अन्य ६ स्थानमा भारतीय दूतावासको सहयोगमा भवन निर्माण कार्य शुरु भइसकेको छ । पोखरीचौरीमा त दोस्रो ढलानसमेत सकिएको छ । निर्माण व्यवसायी धर्मकुमार लामाले वडा कार्यालयको अवरोधका कारण भवन बनाउन नसकेको बताउनुभयो ।

‘हामीले सम्झौता र इस्टमेट भएको स्थानमा भवन निर्माण गर्न पाएका छैनौं’–निर्माण व्यवसायी लामाले भन्नुभयो, ‘माघभरि निर्माण शुरु भएन भने सम्झौता रद्द गर्नुपर्ने हुन सक्छ ।’ १८ महिनाको म्याद पाएको कम्पनीले समयमा भवन निर्माण सम्पन्न गर्न सक्दैन । बर्षा शुरु भएलगत्तै उक्त स्थानको सडक बन्द हुन्छ । निर्णय एकातिर, कार्यान्वयनचाहिँ अर्काेतिर ? किन भन्ने प्रश्नमा वडाअध्यक्ष लुंगेलीले स्थानीयको दबाब रहेको बताउनुभयो ।

टिप्पणीहरू