कृष्णको रामलीला कहिलेसम्म ?
हेटौंडाका एक सरकारी कर्मचारीको दादागिरीले स्थानीय तथा सेवाग्रही आजित भएका छन् । उपमहानगरपालिका-१७ स्थित हटिया शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक कृष्ण यादवको दादागिरीले सीमा नाघेपछि अन्य कर्मचारीले मुख खोल्न थालेका हुन् ।
यादव आफ्नो कार्यालयभन्दा पनि निजी संस्थामा बढी व्यस्त हुने गरेको र त्यसले सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परेको स्थानीयको गुनासो छ । यादवका कारण अन्य कर्मचारीलाई हेर्ने नजरसमेत राम्रो नबनेको त्यहाँका एक कर्मचारीले बताए ।
बताइएअनुसार स्वस्थ्य निरीक्षक रहेका यादव आफूलाई मन लागेका बेला मात्रै कार्यालय आउँछन् भने उनका लागि निश्चित कार्यालय समय नै छैन । सरकारले दिएको पोशाकसमेत नलगाईबअफिस आउने उनले पोशाक भत्ता भने छोडेका छैनन् । यादव कार्यालयको कामभन्दा पनि लोकसेवा तयारी कक्षा पढाउनतिर बढि सक्रिय हुने गरेको कर्मचारीहरुको भनाइ छ ।
‘उनी समयमा अफिस आउँदैनन् । बिहान १० बजे न कहिले कार्यालय पुग्छन् न कहिले ४ बजेसम्म बस्छन् । उनको यो दैनिकी नै हो’, नाम नलेख्ने शर्तमा यी कर्मचारीले भने, ‘यादव यस्ता व्यक्ति हुन् बिदा बस्दा न बिदा स्वीकृत गर्नुपर्छ न कसैलाई जानकारी नै गराउनुपर्छ ।’
नगरपालिकामा आफू नै प्रमुखजस्तो व्यवहार गर्ने गरेको आरोप छ । तपाईं बिदा स्वीकृत नगरी अफिस आउनु भएन नि,बिदामा बस्नु भा”को हो र ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले बिदा स्वीकृत गराउनु पर्दैन, भनेर हिँडे हुन्छ ।’ उनको यस्तो जवाफबाट उप-महानगरका मेयर हरिबहादुर महत र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले कर्मचारीलाई साँढेतन्त्रमा पो छोडेका हुन् कि भन्ने प्रश्न उब्जाएको छ ।
यादव फागुन महिना शुरुदेखि नै कार्यालयमा उपस्थित भएका छैनन् । न उनले बिदा स्वीकृत नै गरेका छन् । उपमहानगरको स्वास्थ्य शाखामा समेत बिदा बस्ने जानकारी नगराएको त्यहाँको स्रोतले बताएको छ । यसरी सरकारी तलब खाएर कृष्णको रामलीला कहिलेसम्म ? हेटौंडा उपमहानगरपालिकाले कर्मचारी ऐन नियमको पालना गर्नु पर्दैन ?
टिप्पणीहरू