रविन्द्र मिश्रको टोली आज बहादुर भवन,पर्सि बालुवाटार

रविन्द्र मिश्रको टोली आज बहादुर भवन,पर्सि बालुवाटार

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझालगायत विभिन्न ३० राजनीतिक दलले स्थानीय निर्वाचनमा चुनाव चिन्ह प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गरेका छन् । ती दल आवद्ध ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ले आज निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर यस्तो माग गरेको हो ।

सङ्घर्ष समितिका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आजै ज्ञापनपत्र बुझाएका हुन् । समितिले स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्थाले राष्ट्रिय राजनीतिमा ठूला पार्टीहरुको सिण्डिकेट खडा गरेको आरोप लगाएको छ ।

यो व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको भन्दै एउटै संविधान र कानुनी प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग-अलग वर्गीकरण गरी राजनीतिमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको सिन्डिकेट खडा गरिएको समितिको ठहर छ ।

समितिको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल भैरहेको जानकारी गराउनुभयो । स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ ।

टिप्पणीहरू