उद्घाटन र सञ्चालनमै झगडा

उद्घाटन र सञ्चालनमै झगडा

राजनीतिक मैदानमा राजनीतिक प्रतिस्पर्धा हुनु त स्वाभाविकै हो तर इलाममा भने पछिल्लो समय विमानस्थलको मैदानमा पनि राजनीतिक खेल चलेको छ ।

शिलान्यास भएको १० वर्षपछि बल्ल तल्ल उद्घाटन भएको इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्घाटनमा राजनीतिक दाउपेच देखिएका कारण १२ वर्षमा उन्यू फूल्यो …. गन्ध चल्यो भनेजस्तो भएको छ । लामो समयपछि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालनतिर कसैको ध्यान जान सकेको थिएन ।

नागरिकको दबाबपछि इलाम नगरपालिकाले काठमाडौंबाट इलाम आउने र इलामबाट जाने ११–११ जना यात्रुको ग्यारेन्टी गर्ने शर्तमा तारा एयरसँग सम्झौता गरेको थियो । सोहीअनुसार फागुन ८ गतेदेखि नियमित उडान हुने भयो । एकतर्फी हवाई भाडा आठ हजार सात सय रूपैयाँमा अपुग नगरले थपिदिने सहमति थियो ।

यसमा इलाम नगरपालिकासँगै क्षेत्र नं. २ का सांसद तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहल अलि बढी रहेको बुझिएको थियो । उनैलाई अघि सारेर नगरले नियमित उडानका लागि पहल गरेपछि सरकारले त्यो भन्दा अघि नै माघ २६ गते वायुसेवा निगमको जहाजबाट परीक्षण उडानसहित फागुन १ गते उद्घाटन गरेको छ ।

नेपाल वायुसेवाको जहाज चढेर आएका पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का सांसद झलनाथ खनाल, संस्कृति, पर्यटन एवं नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रम नेकपा एमाले इलामले भने अघोषित रूपमा बहिष्कार ग¥यो ।

नियमित उडानका लागि १० लाखभन्दा बढी बजेटसमेत विनियोजन गरेको र विमानस्थलसमेत नगरपालिकैमा रहे पनि मेयर महेश बस्नेत देखिएनन् । बरु, सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले आएर भाषण गरे ।

यता सोही भूगोलका प्रदेश सांसद राम राना देखिएनन् तर क्षेत्र नं. २ का प्रदेश सांसद तथा पर्यटन मन्त्री खिनु लङ्वाको भने उपस्थिति थियो । विमानस्थल नियमित सञ्चालन हुन सक्ला या नसक्ला भन्ने भइरहेको बेला उद्घाटनमै देखिएको दलीय झगडाले विमानस्थल सञ्चालनमा समेत अन्योल हुने सम्भावना छ ।

विमानस्थल निर्माण क्रममा दर्जनौं व्यक्तिलाई अन्यत्र सारिएको थियो । जग्गा खरिदका लागि इलामे नागरिकले समेत लाखौं रूपैयाँ चन्दा दिएका थिए । इलामको एउटा ड्रिम प्रोजेक्टको रूपमा हेरिएको विमानस्थल सञ्चालनको क्रममा देखिएको राजनीतिक खिचातानीबाट नागरिक आजित बनेका छन् ।

सरकार र प्रतिपक्षी दल बीचको बेमेल विमानस्थल सञ्चालनमा समेत देखिएकाले फागुन ८ देखि तारा एयरले गर्ने भनिएको नियमित उडानसमेत अन्योलग्रस्त बनेको छ ।

२०५८ सालमै विमानस्थल निर्माण प्रक्रिया थालिएको हो । प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माण शुरु भयो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा हुन सक्यो ।

टिप्पणीहरू