एक सातादेखि काठमाडौं डुङ्डुङ्ति, सडकको सट्टा टनेल बनाउन महानगरको जोड
राजधानी काठमाडौं उपत्यकाका चोक, गल्लि र सडकका छेउमा यतिबेला फोहोरको डुङ्गुर थुप्रिएको छ । एक साताभन्दा बढी समयदेखि फोहोर उठ्न नसक्दा उपत्यका दुर्गन्धित बनेको हो । बाटो हिँड्ने बटुवादेखि स्थानीयहरु फोहोरका कारण सास्ती खेपिरहेका छन् ।
प्रर्दशनीमार्गमा पसल सञ्चालन गरिरहेकी सम्पदा राईले लामो समयदेखि घर अगाडि थुप्रिएको फोहोरको दुर्गन्धले बस्नै नसक्ने अवस्था बनेको भन्दै गुनासो गरिन् । ’गन्हाएर बस्नै सकिन्न, पसल छेउछाउ फोहोरको डुङगुर थुप्रेकाले ग्राहक पनि आउँदैनन्, उनले भनिन् । उनलाई फोहोरको दुर्गन्धले रोग लाग्ने हो कि भन्ने चिन्ता झन् धेरै छ ।
अनामनगरस्थित एउटा कलेजमा अध्ययनरत विद्यार्थी शिव अधिकारीले समेत फोहोरका कारण कलेज आउन निकै गाह्रो भएको सुनाए । ‘मास्क लगाउँदा पनि दुर्गन्ध झेल्न गार्हो पर्छ’, उनले भने । सरकार र स्थानीय तहको लापरवाहीले सडकमा फोहोर थुप्रिएको भन्दै उनले आक्रोश पनि पोखे ।
बालाजु, बानेश्वरलगायतका क्षेत्रमा थुप्रिएको फोहोर झनै अत्यासलाग्दो छ । जताततै थुप्रिएको फोहोरले शहरको सौन्दर्य मात्र बिग्रिएको छैन, रोग फैलिने खतरासमेत छ । फागुन १ गतेदेखि काठमाडौंवासीको घरघरमा फोहोर थुप्रिएको छ ।
पसल, होटल, रेस्टुरेण्टलगायतका फोहोर सबै सडकमा ल्याएर फ्याँकिएको छ । फोहर बिसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटोको मर्मत समयमै नगरेको भन्दै स्थानीयले सडक अवरोध गरेका छन् । जसका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । २०७० सालदेखि निर्माण थालिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँका स्थानीयवासी पटक–पटक आन्दोलनमा उत्रिने गरेका छन् । जसको प्रत्यक्ष असर उपत्यकावासीले खेप्नु परेको छ ।
पटक पटक यस्तो समस्या दोहोरिँदा पनि काठमाडौं महानगरले भने फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न सकेको छैन । बरु बाटो बनाउने ठेकेदारलाई देखाएर महानगर जिम्मेवारीबाट पन्छिने गरेको छ । बाटो बनाउन ठेक्का पाएको ठेकेदार कम्पनीले समयमा सडक नबनाउँदा समस्या भएको महानगरका सहप्रवक्ता महेश काफ्लेले बताए ।
पहाडी बाटोमा ढुँगामाटो र पहिरो खसिरहने हुँदा धेरैचोटि सडक अवरुद्ध हुने गरेको उनको भनाइ छ । ‘टनेल बनाएर फोहोर डम्पिङ साइटसम्म लग्न सकेमा यसको निराकरण हुनसक्छ, होइन भने त यस्तै हो’, उनले सहजै भनिदिए ।
टिप्पणीहरू