चक्लेट खुवाएर मार्ने चेतना

चक्लेट खुवाएर मार्ने चेतना

जर्मनीका नेता एडोल्फ हिटलरको चर्चा अहिले पनि विश्वभर हुन्छ किनभने उनैका कारण दोस्रो विश्वयुद्ध भयो, जसमा ६ करोडले ज्यान गुमाए । उनले आफ्नो शासनकालमा लाखौं यहुदीको संहार गरे यद्यपि उनका बाजे आफैं पनि यहुदी थिए । उनको पहिलो प्रेम यहुदी केटीसँगै भयो । दोस्रो विश्वयुद्धमा बाहेक उनको जातिवादी नीतिका कारण १ करोड १० लाखले ज्यान गुमाउनुपरेको थियो ।

एडोल्फ बाबु एलोइसका अवैध सन्तान थिए । आमा मारिया फ्रान्केन्बर्गर नामक धनी यहुदीको परिवारमा खाना पकाउँथिन् । एलोइस पाँच वर्षको हुँदा मारियाले अर्को केटासँग बिहे गरिन् । केटोको नाउँ थियो– याहन गर्ग हिडलर । बिहे गरेको पाँचै वर्षमा मारियाको निधन भयो । त्यसपछि एलोइस काकासँग बस्न थाले । खेतीपातीमा लागे तर मन त्यसमा बसेन, १३ वर्षको उमेरमै घर छाडे । भियना पुगेपछि जुत्ता सिउने पसलमा काम थाले । आम्दानी निकै थोरै, त्यसबाट पनि गुजारा चलाउन कठिन भएपछि अष्ट्रियाको नागरिक सेवामा प्रवेश गरे र भन्सारमा सहायक अधिकृत बने । मिहिनेतकै कारण गरिब केटो छिट्टै सुपरिवेक्षक बने ।

एलोइस आफ्नो नाउँको पछाडि आमाको थर त्स्चिकगु्रबर राख्थे तर नागरिक सेवामा प्रवेश गर्दा काकाचाहिँले हिडलर राख्न लगाए । सरकारी अभिलेखमा भने हिडलरको ठाउँमा हिटलर लेखिन पुग्यो । सन् १८६९ मा एलोइस ३६ वर्षका भए । बल्ल थेक्ला पेन्जसँग प्रेम भयो । बिहे नै त गरेनन् तर एउटी छोरी जन्माए– थेरेसिया । पछि थेक्लाले अरुसितै बिहे गरिन् । लगत्तै एलोइसले पनि अन्ना ग्लासहोरेरसँग घरजम गरे । अन्ना ५० वर्षकी धनी थिइन् । उमेरको ठूलो फरकले दाम्पत्य जीवन सफल भएन । एलोइस फ्रान्सिस्का ‘फन्नी’ सित प्रेम गर्न थाले । उनी १९ वर्षकी थिइन् र एउटा घरमा नोकरको काम गर्थिन् । त्यतिबेला एलोइसको उमेर ४३ पुगिसकेको थियो ।

फन्नीसितको प्रेमबन्धनबाट एलोइसलाई अलग्याउन नसकेपछि अन्नाले कानुनी बाटो अपनाइन् र सम्बन्धबिच्छेद गरिन् । त्यसपछि एलोइसले सन् १८७६ मा अन्नासँग बिहे गरे र घरमा काम गर्न क्लारा पोल्जल नाउँकी किशोरीलाई राखे । क्लारा त्यस बखत १६ वर्षकी थिइन् । एलोइसकी सौतेनी काकाकी छोरी । तर क्लारालाई फन्नीले मन पराइनन् र घरबाट धपाउन दबाब दिइन् । त्यसबखतसम्म एलोइस र फन्नी प्रेमी–प्रेमिका नै थिए । यसको बाबजुद फन्नीले छोरा जन्माइन् । एलोइसकी पत्नीको निधन असामयिक तवरमा भयो । त्यसपछि फन्नीलाई पत्नीसरह आफैसँग राखे । सन् १८८३ मा फन्नीले फेरि छोरी (एन्जेला) लाई जन्माइन् । त्यसो त फन्नी भर्खर २३ वर्षकी थिइन् तर उनलाई फोक्सोको बिमारीले सताइरहन्थ्यो । त्यसैले आराम गर्ने अभिप्रायले रान्सोफेन गाउँमा बस्न गइन् । घरमा स–साना दुईवटा बच्चा थिए, तिनीहरुको हेरचाह गर्न एलोइसले क्लारालाई पुनः घरमा बोलाए । फन्नीको निधन २३ वर्षको उमेरमा गाउँमै भयो ।

यसबीच क्लारा गर्भवती बनिन् तर तुरुन्तै एलोइसकी पत्नी भने बन्न सकिनन् किनभने नाताले उनीहरु दाजुबहिनी थिए । बिहेका लागि स्वीकृति माग्दै प्रशासनमा निवेदन दिए र स्वीकृति लिएर घरकै कौसीमा बिहे गरे । समारोहमा परिवारका सदस्य तथा साथीभाइको जमघट थियो । बिहेको ६ महिनापछि क्लाराले पहिलो सन्तान (गुस्ताभ) लाई जन्माइन् । अर्को वर्ष छोरी इदा र फेरि अर्को वर्ष छोरो ओट्टोलाई जन्म दिइन् । तर तीन वर्षको दौरान तीनै सन्तानको भ्यागुते रोगले मृत्यु भयो ।

बिहेको पाँचौं वर्ष सन् १८८९ मा क्लाराले अर्को सन्तान जन्माइन्, जसलाई पछि विश्वले महानतम तानाशाह एडोल्फ हिटलरबाट नाउँमा चिन्यो । गरिबीको कारण एलोइस चौथो सन्तानलाई गर्भमै तुहाइदिन चाहन्थे तर त्यसो गर्न चिकित्सकले मञ्जुरी दिएनन् । जन्मिँदा एडोल्फ निकै दुब्ला थिए । शारीरिक रुपमा अत्यन्त कमजोर । त्यसैले क्लाराले दिनरात मिहिनेत गरी छोरोलाई हुर्काइन् । गरिबीकै कारण एडोल्फले राम्रो शिक्षा हासिल गर्न पाएनन् । पढाइको अभाव खट्कन्थ्यो । त्यसैले पादरी बन्ने विचार गरे । चार वर्षको उमेरमा एकजना पादरीले पानीमा डुबेर मर्नबाट बचाएकै कारण उनले आफू पनि पादरी बन्ने अठोट गरेका हुन् ।

सन् १९०५ मा पढाइ छाडेर चित्रकलातर्फ लागे । तर ललितकला स्कुलले भर्ना लिएन । यसबीच आमा क्लाराको मृत्यु भयो । एकातिर ललितकला पढ्न नपाएकोमा दुःखी, अर्कोतर्फ आमासितको बिछोड । दिनहुँ आमाको चिहानछेउ बसेर रोइरहन्थे । यो निराशाले राजनीतितर्फ डो¥यायो । एडोल्फ जन्मँदा एलोइस ५२ वर्षका थिए । उनी छोरा असल मान्छे बनोस् भन्ने चाहन्थे । कडा स्वभावका थिए । भनेको नमान्दा एडोल्फलाई निर्ममतापूर्वक कुट्थे । त्यसैले एडोल्फ बाबुलाई मन पराउँदैनथे ।

युवावस्थामा पुगेपछि जर्मन राष्ट्रवाद जाग्यो । उनी अष्ट्रियाली राजतन्त्रको विरुद्धमा उभिए । जर्मन अभिवादन ‘हेल’ भन्न रुचाउँथे । जर्मनीको राष्ट्रिय गीत ‘डचल्याण्ड उबर एलेस’ गाउँथे । एलोइस एडोल्फलाई लाटोकोसेरो भन्थे । एडोल्फ राति अबेरसम्म सुत्दैनथे । राति नै घरबाट निस्केर सडकमा हिँड्थे । १८ वर्षको भएपछि बाबु एलोइसको सम्पत्ति प्राप्त गरे । त्यही पैसाले ललितकला पढ्न भियना गए । त्यहाँको ललितकला एकेडेमीमा प्रवेश परीक्षा दिए । तर नतिजा निस्कँदा उनको नाउँ आएन । भियना बस्दा पैसा सकिँदै गयो । अनि मागेरसमेत गुजारा चलाए । सडकमा राखिएको बेञ्चमा सुत्थे । फोहोरी भएर हिँड्थे । पछि यहुदीहरुले चलाएको परोपकारी गृहमा बसे । भनिन्छ, यहुदी जातिप्रति घृणा त्यहीँबाट शुरु भयो ।

ललितकला पढ्न संघर्ष गरिरहेको शहर भियनामा यहुदीहरु थुप्रै थिए । त्यो बेला त्यहाँको कूल जनसंख्या ९ प्रतिशत थियो । मेयर थिए– कार्ल लुएगर । घोर यहुदीविरोधी । यहुदीविरोधी भाषण गर्ने । पत्रपत्रिकामा उस्तै लेख, समाचार लेख्न लगाउने । एडोल्फको दिमागलाई यसले असर पा¥यो । तर जब प्रथम विश्वयुद्धमा जर्मनीको पराजय भयो, बहुमत जर्मनहरुले सैन्य बलको कारण नभई आफंै भित्रको गद्दारीलाई कारक ठाने । जर्मन उग्र राष्ट्रवादीहरुको संकेत यहुदी र कम्युनिष्टतर्फ थियो । त्यो बखत जर्मनी र अष्ट्रियाको सेनामा एक लाख यहुदी थिए तर युद्धमा १२ हजार यहुदी मात्र मारिएको दलिल उनीहरुले निकाले । त्यसैले जब एडोल्फ राजनीतिमा छिरे, यहुदी जातिलाई सबैभन्दा बढी घृणा गर्न थाले । नाजी पार्टीमा यिनै यहुदीविरोधी जमातको सहयोगले पदोन्नत हुँदै गए । र, आफू शक्तिशाली बन्नासाथ यहुदीहरुलाई निर्मूल पार्ने अठोट लिए । उनैका कारण भएको दोस्रो विश्वयुद्धमा ६० लाख यहुदी मारिए । उनी कम्युनिष्टहरुलाई घृणा गर्थे । उनको मतमा यहुदी सबै कम्युनिष्ट थिए ।

यहुदी जातिप्रति जतिसुकै घृणा गरे पनि यहुदी बालिकासित उनको गाढा मित्रता बन्यो । बच्चीको नाउँ रोजा थियो । एडोल्फ हिटलर जर्मनीको शासक बनेपछि प्रायः उनी केटाकेटीसँग बसेर फोटो लिन्थे र प्रचार गर्न लगाउँथे । सन् १९३३ को अप्रिल २० मा रोजाको जन्मदिन । हिटलरले जब यो कुरा थाहा पाए, रोजा र उनकी आमा क्यारोलिनलाई आल्प्सस्थित आफ्नो निवास ‘बार्गोफ’ मा बोलाए । सँगै बसेर फोटो खिचे र प्रचार गर्न लगाए । रोजासँग उनको मित्रता निकै लामो समयसम्मै चल्यो तर पछि बल्ल रोजाकी आमा क्यारोलिन यहुदी भएको थाहा पाए । रोजा यहुदी हुन् भनेर थाहा पाइसकेपछि पनि मित्रतामा कुनै फरक परेन । रोजासित खिचेको आफ्नो फोटोमा हस्ताक्षर गरेर उपहारसमेत दिए । त्यसमा लेखेका थिए, ‘प्रिय रोजा निनाओ, एडोल्फ हिटलर, म्युनिख, १६ जुन १९३३ ।’

यो फोटो सन् २०१८ मा अमेरिकामा ११ हजार ५ सय २० डलरमा बिक्री भएको थियो । फोटोग्राफर थिए– हेरिन्क हाफमैन । सन् १९३५ र १९३८ को अवधिमा रोजाले हिटलर र हिटलरका अनन्य मित्र विल्हेम ब्रक्नरको नाउँमा १७ वटा पत्र लेखेकी थिइन् तर यसबीच हिटलरका निजी सचिव मार्टिन बर्मनले आइन्दा कुनै पत्र नलेख्न धम्क्याए । यसको अर्को वर्ष सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरु भयो । र, यही दौरान सन् १९४३ मा रोजालाई पोलियो भयो । १७ वर्षको उमेरमा उनी बितिन् ।

विश्वका नम्बर एक तानाशाह हिटलर जसको डर सबैलाई हुन्थ्यो, उनले गरेको अत्याचारको बयान सुनिसाध्य छैन तर ६ करोड ज्यानको कारक उनी भने शुद्ध शाकाहारी थिए । अझ पशु अधिकारको पक्षधर पनि । पशु हत्याको कट्टर विरोधी । त्यसैले पशु हत्या रोक्न आफ्नो शासनकालमा कडा–कडा कानुनसमेत बनाए । सार्वजनिक स्थलमा धुम्रपान गर्नुहुन्न भने । यसका लागि सेनालाई समेत खटाएर सार्वजनिक स्थानमा भाषण गर्न लगाए । भनिन्छ, हिटलरको शरीरमा एउटा मात्र अण्डकोष थियो । चार वर्षको हुँदा पोखरीमा डुबेर झण्डै मरेका । हिटलरलाई चकलेट एकदम मन पथ्र्यो । भनिन्छ, दिनमा लगभग एक किलो चकलेट खान्थे । उनले शत्रु राष्ट्र बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिललाई चकलेट ख्वाएरै मार्न खोजेका थिए । चर्चिललाई विष्फोटक पदार्थमा चकलेटले छोपेर ख्वाउने प्रयास गरियो तर पछि यो षड्यन्त्र ब्रिटिश जासुसहरुले थाहा पाए ।

हिटलर जीवनभरि पेटको समस्याले ग्रस्त थिए । दैनिक २८ प्रकारका औषधि सेवन गर्थे । एउटा समय थियो, अमेरिकालगायत मित्रराष्ट्र उनको हत्या गर्न चाहन्थे । यसका लागि ती राष्ट्रहरुले धेरै कोसिस गरे तर सकेनन् । एकपटक त अमेरिकी गुप्तचरहरुले उनको खानामा स्त्री हार्मोन बढाउने रसायनसमेत मिसाइदिए ताकि उनमा क्रूरता नआओस्, महिलाले जस्तै व्यवहार गर्न थालुन् । त्यसो त हिटलर आफूलाई जर्मन महिलाहरुको ‘नायक’ नै सम्झन्थे । उनी सुत्न खूब मन पराउँथे । आफू बिहानको ११ बजेसम्म सुतेर बस्थे र वरिपरिकालाई रातभर ननिदाई बस्न आदेश दिन्थे । मध्यराति खाना खान्थे र चार बजेपछि सुत्न जान्थे । यहाँसम्म कि दोस्रो विश्वयुद्धको दौरान सन् १९४४ को जुन ६ मा मित्र राष्ट्रको सेना फ्रान्सको नर्मन्डी छिरिसक्दा पनि उनी गहिरो निद्रामा थिए । सैन्य अधिकृतहरुले आदेशको निम्ति उठाउने कोसिस गर्दा पनि उठेनन् । र, जब मध्याह्न उठेर उक्त कुरो थाहा पाई मित्रराष्ट्रविरुद्ध प्रत्याक्रमणको आदेश दिए, त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो ।

टिप्पणीहरू