कार्यसूचीमा एमसीसी चढ्यो,प्रचण्ड र सभामुखको भेटघाट बढ्यो
भोलि डाकिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्ताव परेको छ । अब उक्त सम्झौतामाथि हुने छलफलमा सांसदहरुले भाग लिने छन् ।
यता,एमसीसी पक्षधर र विपक्षमा रहेका राजनीतिक दलका नेताहरुको भेटघाट निकै बाक्लिएको छ । हिजो साँझ विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि एमसीसीको विषय झन् गर्माएको हो ।
सोही क्रममा अमेरिकी राजदूतले ओलीसँग गरेको भेट र काँग्रेसका विभिन्न नेता तथा मन्त्रीले अन्य दलका शीर्ष नेताहरुसँग गरेको छलफलले पनि उक्त विषय सबैको प्रतिष्ठा बन्दै गएको प्रष्ट भएको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले उक्त सम्झौताको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको छ ।
सोही सन्दर्भमा सरकारले जसरी पनि एमसीसी पारित गर्ने प्रक्रिया अपनाएपछि उत्पन्न परिस्थितिको मूल्यांकन गर्न माओवादी केन्द्रका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । सभामुख निवास लैनचौरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ केहीबेर अघि पुग्नुभएको छ ।
टिप्पणीहरू