भन्सार छलेर ल्याइएका ४ ट्रक सामान चितवनमा फेला
वीरगञ्ज भन्सार कार्यालयबाट भन्सार छलेर ल्याइएका सामान चितवनमा फेला परेको छ । विभिन्न चार वटा ट्रकमा भन्सार छलेका कपडा ल्याइएको सूचनाको आधारमा प्रहरीले ट्रक र सामानलाई चितवनमा पक्रेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार बुधबार वीरगञ्जबाट हिँडेका ती ट्रकलाई हिजो खैरहनी नगरपालिका ८ पर्सा बजारमा सवारी साधन चेकजाँच गर्ने क्रममा फेला पारेको हो । त्यसअघि चितवन र मकवानपुरको सीमानामा रहेको लोथर बजारदेखि चितवन प्रहरीले निगरानी गर्दै आएको थियो । हिजो बिहान पर्सा बजारमा आइपुगेको ना.६ ख ११३, ना.६ ख ११६६, ना.६ ख ५०६१ र ना. ७ ख ९२३४ नम्बरका ट्रकहरुमा भन्सार छलेर चोरी पैठारी गरी ल्याएको कपडाहरुको पोकाहरु फेला परेको हो ।
प्रहरीले ट्रक, ट्रकका चालक र सामान बरामद गरेर आवश्यक अनुसन्धान थालेको छ । बरामद भएका सामानमा ८७ पोका लत्ता कपडा छन् । त्यसैगरी चार वटा ट्रकमा रहेको ८४ टन फलामको छड पनि समातिएको छ । बरामद सामान र ट्रकको मूल्य तीन करोड ४९ लाख भन्दा बढी रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू