‘बानियाँको आदेश लिएर दूत पठाउनु काँग्रेस सिध्याउनु हो’

‘बानियाँको आदेश लिएर दूत पठाउनु काँग्रेस सिध्याउनु हो’

नेपाली काँग्रेस जिल्ला अधिवेशनको रौनक मकवानपुरमा पनि शुरु भएको छ । आजबाट प्रारम्भ अधिवेशनले अन्यत्र झैं उक्त जिल्लामा पनि कस्तालाई नेतृत्वमा चयन गर्नेछ भन्ने उत्सुकता काँग्रेसीहरुमा धेरै देखिन्छ ।

मकवानपुरमा तीन जना नेता जिल्ला सभापतिको दौडमा छन् । आनन्दराम पराजुली,जयराम लामिछाने र बुध्द लामा मुख्य दाबेदार हुन् । आनन्दराम पराजुली समूहले बहुमत क्षेत्रीय प्रतिनिधि (बुथ प्रतिनिधि) को उपस्थितिमा शुक्रबार हेटौंडाको एभोकाडो होटलमा उम्मेदवारी घोषणा कार्यक्रम गरेपछि लामा समूहले हिजो हेटौंडा रिसोर्टमा उम्मेदवारी घोषणाको आयोजना गरेको थियो । प्यानल घोषणा भनिए पनि सभापति पदका आकांक्षी लामाको मात्र उम्मेदवारी घोषणा भएको छ ।

सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा काँग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सभापति रञ्जन कालाखेतीद्वारा व्यक्त धारणाले खैलाबैला मच्चिएको छ । काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ निकटका रुपमा चिनिएका कालाखेतीले बानियाले बुध्द लामा जिताउन आदेश दिएको र आफूहरुले त्यसैको पालना गर्ने भन्दै मन्तव्य व्यक्त गरेका थिए ।

त्यहि क्रममा उनले आफ्नो तर्फबाट आठ सय मत बुध्द लामालाई थपिदिने समेत बताएको सहभागीहरुको भनाइ छ । कालाखेती बोलिरहँदा कार्यक्रममा सहभागी काँग्रेस कार्यकर्ताले भने ‘पार्टीमा हुकुमी शैली र आदेशको प्रवृत्ति मौलाएको’ भन्दै आक्रोश पोखेका थिए ।

बानियाकै आशिर्वादमा मतदाताहरुलाई सौराहा लगेर रामकृष्ण प्रजालाई प्रदेश सभापतिमा हराएका उनै कालाखेती स्थानीय निर्वाचनबाट मनहरी गाउँपालिकाको सभापति बन्ने दौडमा रहेको काँग्रेसीहरुले बताएका छन् ।

बानियाँको दूत बनेर धारणा राख्न पुगेका कालाखेतीले काँग्रेसको अधिवेशनमा भन्दा पनि सभापतिका अर्का दावेदार बुध्द लामाको बिहेको चर्चामा बिताएका थिए । त्यही भएर होला उनीहरुले बानियाको दूतको रुपमा प्रस्तुत भएका कालाखेतीले काँग्रेस सिध्याउन खोजेको आरोप लगाएका छन् ।

टिप्पणीहरू