नेपाल बन्दको प्रभाव न्यून, चाबहिलमा तोडफोड

नेपाल बन्दको प्रभाव न्यून, चाबहिलमा तोडफोड

विप्लव नेतृत्वको नेकपालगायत छ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । हिजो प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा आज बन्दको आह्वान गरिएको हो ।

सुरक्षा स्रोतका अनुसार काठमाडौं उपत्यकामा बन्दको खासै प्रभाव परेको छैन । बल्खुबाट दक्षिणकाली, फर्पिङ,कुलेखानी हुँदै हेटौंडालगायतका स्थानमा चल्ने टाटा सुमोका काउन्टरहरु खुलेको छ । केही टाटा सुमोहरु त्यसतर्फ गएका छन् ।

कीर्तिपुरबाट बल्खु हुँदै रत्नपार्क तथा लगनखेलसम्म चल्ने मिनीबस तथा अन्य सवारी साधनहरु आंशिक रुपमा चलेका छन् । चक्रपथमा पनि सवारी साधनको चाप सामान्य देखिन्छ भने ट्याक्सीहरु सुचारु रहेको बताइएको छ ।

यसैबीच आज बिहान ५ बजेको समयमा बन्द आह्वानकर्ताहरुले चाबहिलमा काठमाडौंबाट उदयपुर र सिन्धुली चल्ने दुई वटा सवारी साधनमा ढुंगा प्रहार गरेका छन् । प्रहारबाट बा.४ ख ७५१८ र बा.३ ख ४४२६ नम्बरका सवारी साधनहरुको पछाडिको सिसा फुटेको छ ।

टिप्पणीहरू