बच्ची बलात्कार गरी मार्ने बुढाको घरै खरानी
मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षिया करुणा राईको बलात्कारपछि हत्यामा संलग्न लेटाङ–८ का ६४ वर्षिय दीपक गिरी घरमा सोमबार दिउँसो स्थानीयले आगजनी गरिदिएका छन् ।
आक्रोसित बनेको २५–३० जनाको समूहले घटनामा संलग्न गिरीको खाली घरमा आगजनी गरिदिएका हुन् । आगजनीबाट फुसको छानो भएको र बाँसको टाटीबेरा लगाएर बनाइएको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरभित्र रहेका केही लत्ताकपडा जलेका छन् ।
घरमा भएका अन्नपात र अरु धनमाल निजकै छोराले निकालेर अन्यत्र लगिसकेका कारण आगजनीबाट ठूलो क्षति हुन नपाएको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताए। यसअघि सोही घरमा बस्दै आएका गिरी अहिले प्रहरी हिरासतमा छन्। प्रहरीले नियन्त्रणमा लिएर उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाको प्रक्रिया अगाडि बढाएको छ ।
लेटाङ नगरपालिकाको सहयोग र स्थानीयले समेत रकम संकलन गरी छाप्रो छेउमा नयाँ घर पनि बनाइदिँदै थिए । घरको पिलर उठाइसकिएको थियो भने इट्टा पनि झरिसकेको थियो । घरका लागि नगरपालिकाले कर्कटपाता उपलब्ध गराएको तर गिरीको हर्कतका कारण नगरपालिकाले कर्कटपाता जफत गरिसकेको वडाध्यक्ष पोखरेलले बताए।
गिरीकी पत्नीको एक महिनाअघि मृत्यु भएको थियो। उनका एक छोरा र एक छोरी छन्। छोरी बिहे गरेर गइसकेकी छिन् भने छोराले गाउँमै ट्याक्टर चालकको काम गर्दै आएका छन् । घरमा लगाइएको आगो शिवशक्ति सामुदायिक वनमा फैलने खतरा बढेपछि दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका करुणालाई नियन्त्रणमा लिएर बलात्कार गर्दै गिरीले गत बुधबार हत्या गरेका थिए । लालहीरा सामुदायिक वनको खोचमा फ्यालेर माथिबाट ढुंगाले छोपेको अवस्थामा उनको शव गत शुक्रबार फेला परेको थियो। झन्डै २ घण्टा पैदल जंगलको बाटो एक्लै घर फर्किदै गर्दा गिरीले बालिकालाई फकाएर अर्को बाटो लग्दै जंगलको बीचमा पुर्याएपछि बलात्कार गरेका थिए । ‘जंगलको बीचमा लगेर शारीरिक सम्पर्कको प्रस्ताव राख्दा नमानेकी बालिकालाई बुढा गिरीले भुइँमा लडाएर बलात्कार गरेका थिए । कसैलाई भनिस भने मारिदिन्छु भन्दै गिरीले धम्क्याए पनि बालिकाले बुवालाई भनिदिन्छु भनेपछि गिरीले घाँटी थिचेर र मुख थुनेर हत्या गरी शव फ्यालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ
घटनाको विरोधमा करुणा अध्ययनरत विद्यालयका विद्यार्थी र शिक्षकले लेटाङमा दिनहुुँजसो प्रदर्शन गर्दै आएका छन् । घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू